गाैमुल खबर डटकम शुक्रबार ०७, कार्तिक २०८३ ११:५४

आज दसैँकाे तेस्राे दिन : टीका-जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक ०७, २०८३
आज दसैँकाे तेस्राे दिन : टीका-जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने

बाजुरा ः विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्। सार्वजनिक यातायातमा यात्रुको चाप बाक्लो छ भने तराईका क्षेत्रमा गर्मी अझै घटेको छैन ।

बडादसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा  छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ ।

दसैँको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ। दशमीका दिन टीका लगाउन नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू त्यसपछिका दिनमा मान्यजनकहाँ पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गर्छन् ।

परपर रहेका माइती–मावली तथा आफन्तकहाँ पुग्न समय लाग्ने भएकाले पूर्णिमासम्म टीका लगाउने परम्पराले भेटघाटको अवसर जुटाउँछ। यस अवधिमा घरघरमा आफन्त आउने र टीका थाप्ने क्रम चलिरहन्छ । दसैँको टीका केवल धार्मिक परम्परामा सीमित छैन ।

यसले परिवार तथा आफन्तबीचको सम्बन्धलाई नवीकरण गर्ने, आशीर्वाद लिने र खुसी साटासाट गर्ने अवसर पनि प्रदान गर्छ । विजयादशमीको दिन छुटेका आफन्तले समेत कोजाग्रत पूर्णिमासम्म टीका लगाउन पाउने भएकाले दसैँको पारिवारिक रौनक केही दिनसम्म कायम रहन्छ ।

प्रतिक्रिया