गाैमुल खबर डटकम शुक्रबार २९, साउन २०८३ ११:४३

बाजुरामा पहिरोको कहर : दुई घर पुरिए, दुई घाइते, एक जना बेपत्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरोको कहर : दुई घर पुरिए, दुई घाइते, एक जना बेपत्ता

बाजुरा ःअविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको त्रिवेणी नगरपालिका-९ स्थित ताम्सुमा दुई घरमा क्षति पुगेको छ भने एक जना बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साउन २८ गते बेलुकीदेखि लगातार परेको वर्षाका कारण ताम्सुमा पहिरो गएको हो । साउन २९ गते राति स्थानीय टेकबहादुर थापाले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बडीमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । तर ताम्सु खोलामा पानीको बहाव अत्यधिक बढेका कारण प्रहरी टोली तत्काल घटनास्थलसम्म पुग्न सकेन ।

स्थानीयसँग टेलिफोन मार्फत गरिएको जानकारी अनुसार ताम्सुमा बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परी क्षति भएको छ । पहिरोमा परेका सोही परिवारका दुई जना सामान्य घाइते भएको र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि राति करिब ४ बजे प्रहरी चौकी बार्जुगाड र अस्थायी प्रहरी वेश क्याम्पबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो ।

उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्री सहित घटनास्थलतर्फ खटिएको छ ।

ताम्सु क्षेत्र प्रहरी चौकी बडीमालिकाबाट करिब चार किलोमिटर उत्तरतर्फ पर्छ । लगातारको वर्षा र खोलामा बढेको पानीको बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता व्यक्तिको खोजी तथा पहिरोमा क्षति पुगेका घरपरिवारको उद्धारका लागि सुरक्षा निकायले प्रयास जारी राखेको छ । प्रहरीले स्थानीयलाई समेत सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ ।
 

प्रतिक्रिया