बाजुरा ःगौमुल गाउँपालिका-६ गैरीबाडा टोलमा जंगली बाँदरको आतंक बढेपछि स्थानीय कृषक चिन्तित बनेका छन्। बाँदरको समूहले पाक्न लागेको मकै र सिमीमा क्षति पुर्याउँदै बाली सखाप पारेको छ।
स्थानीय कृषक डबल चँदाराले दुःख गरेर लगाएको पाक्न लागेको मकै तथा सिमी बाँदरले खाएर र नष्ट गरेर ठूलो क्षति पुर्याएको बताएका छन्। बाली पाक्ने समय नजिकिँदै गर्दा बाँदरले खेतबारीमै पसेर मकैका घोगा तथा सिमी नष्ट गरेपछि आफूले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनको भनाइ छ।
कृषिमा निर्भर परिवारका लागि वर्षभरको खाद्यान्न तथा आम्दानीको आधारका रुपमा रहेको बाली नै जंगली जनावरले नष्ट गर्न थालेपछि किसान थप समस्यामा परेका छन्। ‘दुःख गरेर लगाएको बाली बाँदरले सखाप पार्यो, अब जहान-परिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको छ,’ पीडित कृषक चँदाराले दुखेसो पोखे।
गैरीबाडा टोलमा बाँदरले पटक-पटक खेतबारीमा पसेर मकै, सिमी लगायतका बालीमा क्षति पुर्याउने गरेको स्थानीयको भनाइ छ। जंगली जनावर नियन्त्रणका लागि प्रभावकारी पहल नहुँदा किसानले हरेक वर्ष क्षति व्यहोर्नुपरेको उनीहरुको गुनासो छ।
किसानले बाँदरबाट हुने बाली क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुका साथै क्षतिको मूल्यांकन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।





प्रतिक्रिया