बाजुरा ःबुढीगंगा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको विषय पछिल्लो समय सामाजिक सञ्जालस हित विभिन्न माध्यममा चर्चा र विवादको विषय बनेपछि नगरप्रमुख रामबहादुर बानियाँले नगरपालिकाको धारणा सार्वजनिक गरेका छन्।
नगरप्रमुख बानियाँका अनुसार आफूहरु जनप्रतिनिधि भएर आउनु अघि नै अस्पताल निर्माण प्रक्रिया अघि बढिसकेको थियो। निर्माणस्थलको भौगोलिक अवस्थाबारे आफूहरुले त्यतिबेलै प्रश्न उठाउँदै उपयुक्त भूगोलमा अस्पताल निर्माण गर्नुपर्ने धारणा राखेको भएपनि पुनः त्यही स्थानमा निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
‘हामी जनप्रतिनिधि हुनु अगावै १५ शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो। भूगोलका कारण यहाँ अस्पताल बन्न सक्दैन, उपयुक्त भूगोलमा बनाउनुपर्छ भनेर हामीले त्यतिबेलै भनेका थियौँ। तर फेरि त्यही ठाउँमा काम सुरु गरियो,’ नगरप्रमुख बानियाँले भने।
उनका अनुसार अस्पताल निर्माणमा ढिलाइ हुनुको मुख्य कारण निर्माण कम्पनीको कार्य सम्पादन हो। ठेकेदारले सम्झौता गरेर पेश्की रकम लिएर निर्माण सुरु गरे पनि अपेक्षा अनुसार काम अघि बढाउन नसकेको नगरप्रमुखको भनाइ छ।
‘काम नभएको विषयलाई लिएर अफवाह फैलाइयो’
अस्पताल निर्माणमा ढिलाइ भएको विषयलाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा आफू र नगरपालिका माथि विभिन्न आरोप लगाइएको भन्दै नगर प्रमुख बानियाँले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले अस्पताल निर्माणको विषयमा वास्तविकता नबुझी विभिन्न किसिमका अफवाह फैलाउने काम भएको दाबी गरे। ‘अस्पतालको काम नभएको विषयलाई लिएर अनेकौँ अफवाह फैलाउने काम भयो।
वास्तविक समस्या के हो भन्ने बुझ्न आवश्यक छ। निर्माण कम्पनीले सम्झौता गरेर पेश्की लिएर काम सुरु गरेको हो। काम अघि बढाउने जिम्मेवारी मुख्यतः ठेकेदारकै हो,’ उनले भने।
निर्माणस्थल छनोटमा पहिलेदेखि नै प्रश्न
१५ शय्याको अस्पताल निर्माणका लागि छनोट गरिएको स्थानको विषयमा सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो। नगर प्रमुख बानियाँले पनि उक्त स्थानको भूगोल अस्पताल निर्माणका लागि उपयुक्त नभएको भन्दै आफूहरूले वैकल्पिक स्थानमा निर्माण गर्न सुझाव दिएको बताए।
स्थानीय स्तरमा भने अस्पताल निर्माणका लागि जमिन खरिद गरेर सोही स्थानमा भवन निर्माण सुरु गरिएको भन्ने चर्चा हुँदै आएको छ। नगरप्रमुख बानियाँले आफू साविकको बाह्रविस गाविस क्षेत्रको भएकाले व्यक्तिगत स्वार्थका कारण सोही क्षेत्रमा अस्पताल बनाउन खोजेको आरोप समेत खेप्नु परेको बताए।
‘म साविक बाह्रविस गाविसको भएकाले बाह्रविस लिन खोज्यो भनेर समेत आरोप खेप्नुपर्यो। तर मेरो व्यक्तिगत स्वार्थ भन्दा अस्पतालका लागि उपयुक्त स्थान कुन हो भन्ने विषय महत्वपूर्ण हो,’ उनले भने।
पालिकाले निर्माणमा सहयोग गर्दा १८ लाख रकम लिन बाँकी
नगर प्रमुख बानियाँका अनुसार अस्पताल निर्माणका क्रममा नगरपालिकाले निर्माण कम्पनीलाई सहयोग समेत गरेको थियो।
पालिकाले डोजर तथा टिपर उपलब्ध गराएर निर्माणमा सहयोग गरेको र त्यस बापतको करिब १८ लाख रुपैयाँ निर्माण कम्पनीबाट नगरपालिकाले अझै पाउन बाँकी रहेको उनले बताए।
यसले निर्माण कम्पनीको काम प्रतिको जिम्मेवारी र पालिकाको सहयोगबारे पनि थप प्रश्न उठाएको नगरपालिकाको भनाइ छ।
फाउन्डेसन खन्दा चार घर जोखिममा
अस्पताल निर्माणस्थलको अर्को चुनौती भूगोल बनेको नगरप्रमुख बानियाँले बताएका छन्। निर्माणका लागि फाउन्डेसन खन्ने क्रममा माथिल्लो भागमा रहेका चारवटा घर जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उनले बताए।
‘काम सुरु गर्दै गर्दा चारवटा घर जोखिममा परे। त्यसपछि उनीहरुको पुनः निर्माण तथा व्यवस्थापनका लागि हामी अगाडि बढेका छौँ,’ नगरप्रमुख बानियाँले भने।
निर्माणस्थल भिरालो र पहिरोको जोखिमयुक्त क्षेत्रमा रहेकाले भवन निर्माणसँगै आसपासका बस्तीको सुरक्षालाई समेत ध्यान दिनुपर्ने अवस्था रहेको नगरपालिकाको भनाइ छ।
१८ करोड ८४ लाखमा निर्माण सम्झौता
अस्पताल निर्माणका लागि नगरपालिकाले २२ करोड १ लाख ९४ हजार ६ सय २० रुपैयाँ लागत अनुमान गरेको थियो। स्काइ निशान अधिकारी जेभीसँग १८ करोड ८४ लाख ९४ हजार ८ सय ९६ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो।
नगरपालिका र निर्माण कम्पनीबीच २०७८ कात्तिक २२ गते सम्झौता भएको थियो भने सम्झौताअनुसार २०८० भदौ २० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्धारित समयसीमा सकिएपछि पनि भवन निर्माणले अपेक्षित गति लिन सकेको छैन्।
नगरपालिकाका अनुसार निर्माण कम्पनीले २ करोड ६० लाख रुपैयाँ पेश्की तथा काम बापत थप १ करोड १८ लाख रुपैयाँ गरी कुल ३ करोड ७८ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ। निर्माण कार्य भने न्यून अवस्थामा रहेको भन्दै यसअघि स्थानीय तथा स्वास्थ्यकर्मीहरूले प्रश्न उठाउँदै आएका थिए।
म्याद थपिए पनि कामले गति लिन सकेन
निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको म्याद थप गरिएको छ। तर थपिएको समयावधिमा समेत निर्माणले अपेक्षित गति लिन नसकेको विषयमा नगरपालिकाले निर्माण कम्पनीसँग जवाफ माग्नुपर्ने अवस्था देखिएको छ।
नगरप्रमुख बानियाँले अस्पताल निर्माण सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको भन्दै निर्माण कम्पनीलाई काम अघि बढाउन आवश्यक निर्देशन तथा समन्वय भइरहेको बताए।
‘अस्पताल निर्माण गर्ने विषयमा नगरपालिका प्रतिबद्ध छ’
नगरप्रमुख बानियाँले अस्पताल निर्माणलाई राजनीतिक विवादको विषय भन्दा पनि स्थानीय नागरिकको स्वास्थ्य सेवासँग जोडिएको महत्वपूर्ण पूर्वाधारका रुपमा लिनुपर्ने बताए।
उनका अनुसार अस्पताल निर्माणमा देखिएका भौगोलिक तथा प्राविधिक चुनौती समाधान गर्दै निर्माण कार्यलाई अघि बढाउने प्रयास भइरहेको छ।
‘अस्पताल निर्माण नहुनुको मुख्य कारण ठेकेदारको काम गर्ने गति र कार्यसम्पादन हो। नगरपालिकाले अस्पताल निर्माण नगर्ने भन्ने प्रश्नै छैन। देखिएका समस्या समाधान गरेर निर्माण कार्यलाई अघि बढाउने हाम्रो प्रयास जारी छ,’ उनले भने।
बुढीगंगाको १५ शय्याको अस्पताल निर्माणसँगै यसको स्थान छनोट, ठेक्का सम्झौता, भुक्तानी, निर्माण कम्पनीको कार्यसम्पादन र निर्माणस्थलको भौगोलिक अवस्थाबारे उठेका प्रश्नमा सम्बन्धित निकायबाट स्पष्ट र तथ्यमा आधारित जानकारी सार्वजनिक हुनुपर्ने देखिन्छ।
सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्तर्गत अघि बढाइएको यो आयोजना समयमै सम्पन्न भए बुढीगंगा नगरपालिकाका नागरिकलाई स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने आधार तयार हुनेछ। त्यसैले निर्माणमा देखिएका अवरोध समाधान गरी अस्पताललाई यथाशीघ्र पूर्णता दिनुपर्ने स्थानीयको अपेक्षा छ।





प्रतिक्रिया