गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०४

कोल्टी आधारभूत अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवाका लागि निक साइमन्ससँग सम्झौता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १५, २०८३
कोल्टी आधारभूत अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवाका लागि निक साइमन्ससँग सम्झौता

बाजुरा ःबाजुराको दुर्गम बुढीनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, बुढीनन्दा नगरपालिका र निक साइमन्स इन्स्टिच्युट (Nick Simons Institute-NSI) बीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कोल्टी अस्पतालमा दीर्घकालीन विशेषज्ञ स्वास्थ्य सेवा सुरु हुने निश्चित भएको हो।

सम्झौताअनुसार निक साइमन्स इन्स्टिच्युटले आगामी भदौ १ गतेदेखि कम्तीमा पाँच वर्षदेखि अधिकतम १० वर्षसम्म आफ्नै व्यवस्थापन र खर्चमा एमडीजीपी (MDGP) चिकित्सक, मेडिकल अधिकृतसहित ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली परिचालन गर्नेछ। टोलीले अस्पतालमा विशेषज्ञ उपचार सेवा, स्वास्थ्य व्यवस्थापन र सेवा विस्तारमा काम गर्नेछ।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये नयाँ रूपमा छनोट गरिएका केवल तीन स्थानीय तहमध्ये बुढीनन्दा नगरपालिकाको कोल्टी अस्पताल पनि परेको हो। यसलाई दुर्गम हिमाली क्षेत्रको स्वास्थ्य सेवाका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

यसअघि सामान्य उपचारका लागि समेत बाजुरा, मुगु, हुम्ला र कालिकोटका नागरिकले नेपालगञ्ज, धनगढी वा अन्य सहर पुग्नुपर्ने, त्यसका लागि हवाई यात्रा गर्नुपर्ने र धेरै परिवारले उपचारकै लागि घरजग्गा बेच्नुपर्ने अवस्था थियो। अब भने विशेषज्ञ चिकित्सक गाउँमै उपलब्ध हुने भएपछि हजारौं नागरिकले सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

बुढीनन्दा नगरपालिकाले विगतदेखि आफ्नै स्रोतबाट एमडीजीपी चिकित्सक राखेर सेवा सञ्चालन गर्दै आएको थियो। आर्थिक रूपमा चुनौतीपूर्ण भए पनि नगरपालिकाले उक्त सेवा निरन्तरता दिएको थियो। यही अनुभवलाई आधार बनाएर नगरप्रमुख जनककुमार बोहराले करिब तीन वर्षदेखि निरन्तर पहल गर्दै विभिन्न प्रक्रिया पूरा गरी अन्ततः सामाजिक विकास मन्त्रालयमार्फत सम्झौता सम्पन्न गराउन सफल भएका हुन्।

नगरप्रमुख बोहराले जनप्रतिनिधि बनेपछि कोल्टी अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्नु आफ्नो प्रमुख सपना रहेको बताउँदै अब त्यो सपना साकार भएको प्रतिक्रिया दिएका छन्। उनले यस सफलताका लागि निक साइमन्स इन्स्टिच्युट, विशेषगरी कार्यक्रम व्यवस्थापक डा. कासिम शाह, सामाजिक विकास मन्त्रालय तथा यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

यसअघि निक साइमन्स इन्स्टिच्युटको कार्यक्रम बाजुरा अस्पतालमा सञ्चालन हुँदै आएको थियो। अब सो कार्यक्रम कोल्टी अस्पतालमा विस्तार भएसँगै बाजुरामात्र होइन, छिमेकी हिमाली जिल्ला मुगु, हुम्ला र कालिकोटका नागरिकले समेत विशेषज्ञ स्वास्थ्य सेवाको प्रत्यक्ष लाभ पाउनेछन्।

दुर्गम हिमाली क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने दिशामा यो सम्झौतालाई कोल्टी अस्पतालको इतिहासकै महत्वपूर्ण उपलब्धि र बुढीनन्दा नगरपालिकाको स्वास्थ्य क्षेत्रको नयाँ अध्यायका रूपमा लिइएको छ।

प्रतिक्रिया