गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:१३

त्रिवेणीका चार विद्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण, ७३६ विद्यार्थी प्रत्यक्ष लाभान्वित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन ०१, २०८३
त्रिवेणीका चार विद्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण, ७३६ विद्यार्थी प्रत्यक्ष लाभान्वित

बाजुरा ः बाजुराको त्रिवेणी नगरपालिकाका चार सामुदायिक विद्यालयमा समावेशी (अपाङ्गमैत्री) शौचालय निर्माण सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा महिला विकास मञ्चद्वारा सञ्चालित 'सबल बालिका, सबल समुदाय (सबास)' परियोजना अन्तर्गत स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा समुदायको सहकार्यमा शौचालय निर्माण गरिएको हो।

परियोजना संयोजक अशोक शाहका अनुसार विद्यालयमा अध्ययनरत सबै बालबालिकाको सुरक्षित, सहज र सम्मानजनक सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले समावेशी शौचालय निर्माण गरिएको हो।

उनका अनुसार त्रिवेणी नगरपालिकाको रत्न माध्यमिक विद्यालय, पार्वती माध्यमिक विद्यालय, नवदुर्गा आधारभूत विद्यालय र त्रिवेणी आधारभूत विद्यालय मा एक-एक वटा गरी चार समावेशी शौचालय निर्माण सम्पन्न भएका छन्।

कुल ८२ लाख ३६ हजार २३१ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएका यी शौचालयबाट ७३६ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्। यसले विशेषगरी अपाङ्गता भएका विद्यार्थीलाई सहज र सम्मानपूर्वक शौचालय प्रयोग गर्ने वातावरण उपलब्ध गराएको परियोजनाले जनाएको छ।

शौचालय निर्माणसँगै विद्यालयमा व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता, शौचालयको दिगो सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ। यसबाट विद्यार्थी, शिक्षक तथा समुदायमा समावेशी सरसफाइको महत्वबारे सकारात्मक चेतना अभिवृद्धि भएको परियोजनाको दाबी छ।

विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार तथा सरोकारवालाहरूले शौचालयको नियमित सञ्चालन, सरसफाइ र मर्मत सम्भारमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएका छन्। उनीहरूले यस्ता पूर्वाधारले अपाङ्गता भएका विद्यार्थी र शिक्षकलाई समान अवसर उपलब्ध गराउँदै सम्मानपूर्वक सरसफाइ सेवा प्रयोग गर्न सक्ने वातावरण सिर्जना गरेको बताएका छन्।

परियोजनाले समावेशी शौचालय निर्माणले दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत सबैका लागि सुरक्षित, समतामूलक सरसफाइ र स्वच्छता सेवामा पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विद्यालयलाई अझ सुरक्षित, समावेशी र बालमैत्री शिक्षण वातावरणमा रूपान्तरण गर्न पनि यसले उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया