गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०४

कुटपिटको शिकार बने गौमुलका गजेन्द्र : बैङ्गलोरमा मृत्यु, दोषीलाई कडा कारबाहीको माग

फरार आरोपित पक्राउ नभएसम्म शव नउठाउने परिवारको अडान
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार ३२, २०८३
कुटपिटको शिकार बने गौमुलका गजेन्द्र : बैङ्गलोरमा मृत्यु, दोषीलाई कडा कारबाहीको माग

बाजुरा/बैङ्गलोर ःभारतको बैङ्गलोरमा कुटपिटपछि बाजुराका एक नेपाली युवकको मृत्यु भएको घटनाले यतिबेला बाजुरा सहित प्रवासी नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।

गौमुल गाउँपालिका-३ भीट्टालीका २१ वर्षीय गजेन्द्र विकको उपचारका क्रममा बुधबार मृत्यु भएपछि परिवारले घटनाको निष्पक्ष छानबिन, फरार आरोपितको तत्काल पक्राउ गरी दोषी माथि कडा रुपमा कानुनी कारबाहीको माग गरेका छन् ।

घटनामा संलग्न भएको आरोपमा बाजुराको बुढीनन्दा नगरपालिका-१०, पाण्डुसैनका २६ वर्षीय नरेन्द्र चँदारा र २२ वर्षीय राम चँदारालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

अर्का आरोपित गोविन्द चँदारा सहित केही व्यक्ति भने अझै फरार रहेका छन् ।परिवारका अनुसार असार २९ गते साँझ सामान्य विवादका क्रममा गजेन्द्र माथि निर्घात कुटपिट गरिएको थियो ।

गम्भीर घाइते भएका उनलाई तत्काल अस्पताल पुर्याइए पनि उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको हो । करिब चार वर्षदेखि रोजगारीका लागि बैङ्गलोरमा बस्दै आएका गजेन्द्रको असामयिक निधनले परिवार शोकमा डुबेको छ ।

हाल गजेन्द्रको शव अस्पतालमै राखिएको छ । फरार रहेका सबै आरोपित पक्राउ गरी निष्पक्ष अनुसन्धान सुरु नभएसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ ।

पीडित पक्षले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

मृतकका आफन्तले सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल सरकार, भारतीय प्रशासन तथा सबै सरोकारवाला निकायसँग अपिल गरेका छन् ।

साथै न्याय प्राप्तिका लागि आवश्यक कानुनी, प्रशासनिक तथा कूटनीतिक समन्वय गरिदिन प्रवासी नेपाली सम्पर्क मञ्च, भारत-कर्नाटक राज्य समिति लगायत सम्बन्धित निकायसँग समेत आग्रह गरिएको छ ।

यस घटनाले विदेशमा रोजगारीका लागि गएका नेपाली नागरिकको सुरक्षा, कानुनी संरक्षण र आपत्कालीन समन्वयको विषयलाई पुनः गम्भीर रुपमा उठाएको छ ।

पीडित परिवारले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन र न्याय सुनिश्चित गर्न सम्बन्धित सबै निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरेका छन् ।
 

प्रतिक्रिया