बाजुरा ःस्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी, गुणस्तरीय र दिगो बनाउने उद्देश्यले गौमुल गाउँपालिकामा विद्यालयका प्रधानाध्यापक तथा सहकारी एवं कृषक समूहबीच खाद्यान्न आपूर्ति सम्बन्धी सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
गौमुल गाउँपालिकाको आयोजनामा तथा विश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोगमा गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमका लागि आवश्यक खाद्यान्न स्थानीय सहकारी तथा कृषक समूह मार्फत आपूर्ति गर्ने विषयमा प्रधानाध्यापक र सहकारी तथा कृषक समूहका प्रतिनिधिबीच सम्झौता गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले स्थानीय उत्पादनको उपयोगले किसानको उत्पादनले बजार पाउने, स्थानीय अर्थतन्त्र सुदृढ हुने तथा विद्यालयका विद्यार्थीले ताजा र गुणस्तरीय खाद्यान्न उपभोग गर्न पाउने विश्वास व्यक्त गरेका छन् । उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति गाउँपालिकाले निरन्तर अघि बढाउने बताएका हुन् ।
गाउँपालिका उपाध्यक्ष सीता थापाले विद्यालय दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोडेर सञ्चालन गर्दा किसानको आयआर्जन वृद्धि हुनुका साथै बालबालिकाको पोषण सुधारमा समेत सकारात्मक प्रभाव पर्ने धारणा रोखेकी छन् ।
कार्यक्रमबारे जानकारी दिँदै शिक्षा शाखा प्रमुख राम नाथले विद्यालयमा प्रयोग हुने खाद्यान्न स्थानीय सहकारी तथा कृषक समूहबाट खरिद गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएकाले स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
कार्यक्रमको सञ्चालन स्थानीय स्रोत व्यक्ति रमेश रोकायाले गरेका हुन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया, उपाध्यक्ष सीता थापा, विभिन्न वडाका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, सहकारी तथा कृषक समूहका प्रतिनिधि, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम मार्फत विद्यालय दिवा खाजा कार्यक्रमका लागि आवश्यक खाद्यान्न स्थानीय उत्पादनबाट नै आपूर्ति गर्ने व्यवस्थालाई संस्थागत गर्दै स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्ने र विद्यालयमा गुणस्तरीय तथा पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया