गाैमुल खबर डटकम बिहीबार २५, भदौ २०८३ ००:००

जनताको घर आँगनसम्म सडक पुर्‍याउने अभियानमा बुढीनन्दा सरकार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार १९, २०८३
जनताको घर आँगनसम्म सडक पुर्‍याउने अभियानमा बुढीनन्दा सरकार

बाजुरा ः बुढीनन्दा नगरपालिकाले गाउँ-गाउँमा सडक सञ्जाल विस्तार गर्दै स्थानीय नागरिकलाई सहज यातायात पहुँच उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको छ। यसैक्रममा बड्डाला-मालिका-भुलेना सडकको औपचारिक उद्घाटन गरिएको छ।

नगर प्रमुख जनक कुमार बोहराले रिबन काटेर सडकको उद्घाटन गर्दै सडक पूर्वाधारको विकासले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले नगरपालिकाले विकासलाई केन्द्रबिन्दुमा राखेर प्रत्येक बस्तीलाई सडक सञ्जालसँग जोड्ने लक्ष्यका साथ योजनाबद्ध रूपमा काम गरिरहेको बताए।

उद्घाटन कार्यक्रम वडा नं. ३ का अध्यक्ष जङ्गवीर रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख रामबहादुर बोहरा, वडा नं. १ का अध्यक्ष मानबहादुर कार्की, वडा नं. २ का अध्यक्ष नन्दराज गिरी, वडा नं. ५ का अध्यक्ष छत्रबहादुर मल्ल, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले सडक निर्माणले स्थानीयबासीको आवागमन सहज बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको बजारीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे। उनीहरुले विकास निर्माणका कार्यमा नगरपालिकाले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

स्थानीयबासीले सडक उद्घाटनसँगै विकासप्रतिको आशा थप बलियो बनेको प्रतिक्रिया दिएका छन्। उनीहरुले सडक विस्तारले दुर्गम बस्तीलाई विकासको मूलधारसँग जोड्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले थालेको पूर्वाधार विकास अभियानको प्रशंसा गरेका छन्।

बुढीनन्दा नगरपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै गाउँ‍-गाउँमा विकासको पहुँच विस्तार गर्ने अभियानलाई प्रभावकारी रुपमा अघि बढाइरहेको जनाएको छ।

स्थानीय तहको सक्रिय पहलसँगै दुर्गम बस्तीमा समेत सडक सञ्जाल विस्तार हुँदा जनजीवन सहज बन्नुका साथै समृद्ध बुढीनन्दा निर्माणतर्फ महत्वपूर्ण आधार तयार हुँदै गएको छ।

प्रतिक्रिया