बाजुरा ः गौमुल गाउँपालिकामा सहकारी सम्बन्धी ज्ञान, चेतना र सदस्यको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले पूर्व-सहकारी शिक्षा शिविर सम्पन्न भएको छ ।
त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मार्तडी बाजुराको आयोजनामा गौमुल गाउँपालिकाको सभा हलमा सञ्चालन गरिएको कार्यक्रममा सहकारीको सिद्धान्त, मूल्य, सदस्यको भूमिका, बचत तथा लगानी व्यवस्थापन र सहकारीलाई उत्पादनमुखी तथा आत्मनिर्भर बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले सहकारी संस्थाहरु स्थानीय आर्थिक विकासका महत्वपूर्ण आधार भएकाले पारदर्शिता, सुशासन र उत्पादनमूलक गतिविधिमा केन्द्रित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले गाउँपालिकाले सहकारी क्षेत्रको विकासका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष अमर विक, गोरख बोहरा र प्रकाश रोकाया सहित सहकारीकर्मी, स्थानीय सरोकारवाला तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष शेरबहादुर रावलले कार्यक्रमको उद्देश्य र सहकारी शिक्षाको आवश्यकताबारे जानकारी गराउँदै सहकारीलाई थप प्रभावकारी, उत्तरदायी र सदस्यमैत्री बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक दयाराम पण्डितले गरेका थिए । आयोजकका अनुसार सहकारी शिक्षा शिविरले सदस्यहरुमा सहकारी प्रतिको बुझाइ बढाउनुका साथै बचत, लगानी, उत्तरदायित्व र संस्थागत सुशासनप्रति सकारात्मक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया