गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:३५

प्रश्न जनताका, जवाफ गाउँपालिकाको : गौमुलमा सार्वजनिक सुनुवाइ सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १६, २०८३
प्रश्न जनताका, जवाफ गाउँपालिकाको : गौमुलमा सार्वजनिक सुनुवाइ सम्पन्न

बाजुरा ःसुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिक-सरकारबीचको विश्वासलाई थप मजबुत बनाउने उद्देश्यले गौमुल गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, बजेट कार्यान्वयन तथा समग्र प्रशासनिक गतिविधिबारे नागरिकलाई सुसूचित गराउनुका साथै स्थानीयका गुनासा, जिज्ञासा, सुझाव र अपेक्षालाई प्रत्यक्ष रुपमा सुन्ने तथा त्यसको सार्वजनिक रुपमा जवाफ दिने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयको व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी स्थानीय नागरिकहरुले गाउँपालिकाको सेवा प्रवाह, विकास आयोजना, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी लगायत विविध विषयमा खुलेर प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।

स्थानीयले उठाएका प्रत्येक विषयमा गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले जवाफ दिँदै आगामी दिनमा प्राप्त रचनात्मक सुझावलाई कार्यान्वयन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष रोकायाले सार्वजनिक सुनुवाइलाई नागरिक र स्थानीय सरकारबीचको विश्वासको पुलका रुपमा व्याख्या गर्दै जनताका सुझावले गाउँपालिकालाई थप उत्तरदायी, पारदर्शी र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता थापा, प्रमुख प्रशासकीय अधिकृत कुमारधर भट्ट, वरिष्ठ प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, वडा अध्यक्षहरु देवबहादुर रोकाया, अमर विक, गोरख बोहरा, प्रकाश रोकाया र देवेन्द्र रोकाया लगायत जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा स्थानीयबासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले गरेको थियो । महासंघका अध्यक्ष पदम सिंह र उपाध्यक्ष रमित विकको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रमले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद, पारदर्शिता, उत्तरदायित्व र सहभागितामूलक सुशासनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया