बाजुरा ःजनप्रतिनिधिको सामूहिक जीवन बीमा गर्ने सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानीय तह बनेको बुढीगंगा नगरपालिकाका एक वडा सदस्यको निधनपछि उहाँको परिवारले ६२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी प्राप्त गरेको छ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मसुरिया उपशाखाले बुढीगंगा नगरपालिका-३ की वडा सदस्य स्वर्गीय कल्पना देवी थापाका परिवारलाई मृत्युदाबीबापतको ६२ लाख रुपैयाँ हस्तान्तरण गरेको हो। कम्पनीका प्रतिनिधिहरुले मृतकको निवासमै पुगेर आयोजित कार्यक्रममा उक्त रकम परिवारलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीका सुदूरपश्चिम प्रदेश उपप्रमुख तारा सिंह बमका अनुसार आकस्मिक विपत्तिको समयमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले आवश्यक कागजात र प्रक्रिया पूरा हुनेबित्तिकै दाबी रकम छिटो, सहज र पारदर्शी रुपमा भुक्तानी गरिएको हो।
स्वर्गीय थापाको कार्यालयबाट घर फर्कने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै दुःखद निधन भएको थियो। बुढीगंगा नगरपालिका र हिमालयन लाइफ इन्स्योरेन्सबीच २०८० भदौ ६ गते भएको सम्झौताअनुसार नगरपालिकाका सबै जनप्रतिनिधिको प्रत्येक वर्ष नवीकरण हुने गरी १० लाख रुपैयाँको म्यादी जीवन बीमा गरिएको थियो।
यस कार्यक्रम मार्फत जनप्रतिनिधिको बीमा गर्ने सुदूरपश्चिम प्रदेशकै पहिलो नगरपालिकाका रूपमा बुढीगंगाले उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाले प्रत्येक जनप्रतिनिधिको बीमाबापत वार्षिक ८ हजार ३४० रुपैयाँ बीमा शुल्क भुक्तानी गर्दै आएको छ।
बीमा सम्झौताअनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ बीमाङ्क, ५० लाख रुपैयाँ दोहोरो दुर्घटना लाभ तथा २ लाख रुपैयाँ क्रियाखर्च लाभ गरी कुल ६२ लाख रुपैयाँ दाबी रकम उपलब्ध गराइएको मसुरिया उपशाखा प्रमुख माया कुमारी बम खड्काले जानकारी दिइन्।
दाबी रकम हस्तान्तरण कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया खड्का कुँवर, वडा नं. ५ का अध्यक्ष चक्रबहादुर थापा, हिमालयन लाइफ इन्स्योरेन्सका प्रदेश उपप्रमुख तारा सिंह बम, मसुरिया उपशाखा प्रमुख माया कुमारी बम खड्का तथा एमडीआरटी जगतबहादुर शाही लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरुले जीवन बीमाले आकस्मिक दुर्घटना तथा अन्य विपत्तिपछि परिवारलाई आर्थिक र सामाजिक रुपमा ठूलो सहारा पुग्ने उल्लेख गर्दै बीमा सचेतना अझ विस्तार गर्ने, दाबी प्रक्रियालाई थप सरल, प्रभावकारी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
बुढीगंगा नगरपालिकाले जनप्रतिनिधिको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै सुरु गरेको बीमा कार्यक्रमले अहिले व्यवहारमै यसको प्रभाव देखाएको भन्दै स्थानीयबासीले यसलाई अन्य स्थानीय तहका लागि पनि अनुकरणीय अभ्यासका रुपमा लिएका छन्।





प्रतिक्रिया