गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०४

त्रिवेणी-रामारोशनको संयुक्त निष्कर्ष : चाकामाइ क्षेत्रलाई लिएर कुनै विवाद छैन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार १३, २०८३
त्रिवेणी-रामारोशनको संयुक्त निष्कर्ष : चाकामाइ क्षेत्रलाई लिएर कुनै विवाद छैन

बाजुरा ःबाजुरा-अछाम सीमा क्षेत्रको चाकामाइलाई लिएर सामाजिक सञ्जालमा फैलाइएको विवादको हल्ला निराधार रहेको त्रिवेणी नगरपालिका (बाजुरा) र रामारोशन गाउँपालिका (अछाम)ले स्पष्ट पारेका छन्।

शुक्रबार रामारोशन गाउँपालिकाको कार्यालय शान्तडामा बसेको दुवै स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको संयुक्त बैठकले चाकामाइ क्षेत्रका विषयमा कुनै पनि प्रकारको सीमा वा क्षेत्रीय विवाद नरहेको निष्कर्ष निकालेको हो।

पछिल्लो समय सामाजिक सञ्जालमा चाकामाइ क्षेत्रलाई लिएर त्रिवेणी नगरपालिका र रामारोशन गाउँपालिकाबीच विवाद रहेको भन्दै विभिन्न भ्रामक सूचना तथा टिप्पणी सार्वजनिक भएपछि त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न संयुक्त बैठक आयोजना गरिएको थियो।

बैठकपछि जारी निर्णयमा सामाजिक सञ्जालमार्फत फैलाइएका आधारहीन र भ्रमपूर्ण प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चाकामाइ क्षेत्रका सम्बन्धमा दुवै स्थानीय तहबीच कुनै विवाद नरहेको स्पष्ट पारिएको छ।

संयुक्त बैठकले सामाजिक सद्भाव, आपसी भाइचारा र स्थानीय तहहरूबीचको समन्वयलाई थप सुदृढ बनाउन सबै पक्ष प्रतिबद्ध रहेको जनाएको छ। साथै तथ्यहीन सूचना, अफवाह तथा भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रसारण वा प्रचारप्रसार नगर्न सबैलाई आग्रह गरिएको छ।

यस्ता गतिविधिले समाजमा अनावश्यक भ्रम, अविश्वास र द्वन्द्व सिर्जना गर्न सक्ने भएकाले जिम्मेवार ढंगले अभिव्यक्ति दिन बैठकले सबै सरोकारवालालाई अनुरोध गरेको छ।

बैठकको निर्णयपत्रमा दुवै स्थानीय तहका जनप्रतिनिधि तथा सहभागीहरूको हस्ताक्षर रहेको छ। संयुक्त बैठकले चाकामाइ क्षेत्रका विषयमा फैलाइएका भ्रमपूर्ण हल्ला असत्य रहेको पुनः स्पष्ट गर्दै भविष्यमा पनि आपसी सहकार्य, समन्वय र सद्भाव कायम राख्दै साझा हितका विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया