बाजुरा ः गौमुल गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना १५ दिनभित्र हटाउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र, जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशन तथा गाउँ कार्यपालिकाको ५० औँ बैठकको निर्णय अनुसार गाउँपालिकाले यस्तो सूचना जारी गरेको हो ।
सूचना अनुसार गाउँपालिका क्षेत्रभित्र नेपाल सरकार तथा गाउँपालिकाको स्वामित्वमा रहेका सार्वजनिक, सरकारी र ऐलानी जग्गा, सडक, खोला-नाला, गौचर, विद्यालय, सार्वजनिक चौतारी, मठ-मन्दिर, बजार क्षेत्र, डम्पिङ साइट, पार्क तथा अन्य खुला स्थान अतिक्रमण गरी घर, टहरा, गोठ, घेराबार लगायतका संरचना निर्माण वा प्रयोग गरिएको पाइएमा ती संरचना १५ दिनभित्र हटाउनुपर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाले तोकिएको अवधिभित्र अतिक्रमण हटाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न सबै नागरिक तथा सरोकारवालालाई अनुरोध गरेको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको कानुनी दायित्व भएकाले अतिक्रमण नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
गौमुल गाउँपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सुशासन कायम गर्ने तथा सार्वजनिक उपयोगका क्षेत्र सुरक्षित राख्ने उद्देश्यले उक्त सूचना जारी गरिएको स्पष्ट पारेको छ ।





प्रतिक्रिया