गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

अब गौमुलमै एम्बुलेन्स सेवा : बिरामी बोक्न घण्टौं हिँड्नुपर्ने बाध्यता अन्त्य हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार ११, २०८३
अब गौमुलमै एम्बुलेन्स सेवा : बिरामी बोक्न घण्टौं हिँड्नुपर्ने बाध्यता अन्त्य हुने

बाजुरा ःबाजुराको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिकाभित्र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ । दुर्गम भौगोलिक अवस्थाका कारण समयमै उपचार सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले गरिब, विपन्न तथा दुर्गम बस्तीका नागरिकलाई लक्षित गर्दै एम्बुलेन्स सेवा सुरु गर्न लागिएको बताएका छन् । उनका अनुसार गाउँपालिकाले आवश्यक बजेट व्यवस्था गरी आधुनिक सुविधा सहितको एम्बुलेन्स खरिद गर्नेछ र खरिद प्रक्रिया पूरा हुने बित्तिकै सेवा सञ्चालनमा ल्याइने भएको छ ।

हाल गौमुलका धेरै बस्तीमा बिरामी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा आकस्मिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई उपचारका लागि स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म पु¥याउन ठूलो सास्ती भोग्नुपर्ने अवस्था छ । कतिपय अवस्थामा बिरामीलाई डोको, स्ट्रेचर वा मानवीय सहारामा घण्टौंसम्म बोकेर लैजानुपर्ने बाध्यता रहेको छ ।

एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि आकस्मिक बिरामीको उद्धार, गर्भवती तथा सुत्केरी महिलाको सुरक्षित स्वास्थ्य संस्थासम्म पहुँच, दुर्घटनामा परेका नागरिकको शीघ्र उपचार तथा रेफर गरिएका बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज हुने अपेक्षा गरिएको छ ।

स्थानीयबासीले गाउँपालिकाको यस निर्णयलाई जनमुखी र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको महत्वपूर्ण कदमका रूपमा स्वागत गरेका छन् । एम्बुलेन्स सञ्चालनसँगै स्वास्थ्य सेवामा पहुँच बढ्ने, उपचारका क्रममा हुने ढिलाइ कम हुने र नागरिकको ज्यान बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
 

प्रतिक्रिया