गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:३६

त्रिवेणी नगरपालिकाद्वारा ५४ करोड ९५ लाखको बजेट पारित, कृषि-शिक्षा-पूर्वाधार विकासलाई प्राथमिकता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार १०, २०८३
त्रिवेणी नगरपालिकाद्वारा ५४ करोड ९५ लाखको बजेट पारित, कृषि-शिक्षा-पूर्वाधार विकासलाई प्राथमिकता

बाजुरा ः त्रिवेणी नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कुल ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

बुधबार सम्पन्न नगरसभाको बैठकमा नगर उपप्रमुख कमला कुमारी जैसी (न्यौपाने) ले उक्त बजेट तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गर्नुभएको थियो।

बजेट प्रस्तुत गर्दै उपप्रमुख जैसीले नगरको समग्र विकास, आर्थिक समृद्धि तथा जनभावनालाई सम्बोधन गर्ने उद्देश्यका साथ बजेट तयार गरिएको बताउनुभयो।

उहाँले त्रिवेणी नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३, विनियोजन विधेयक, २०८३ तथा आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको न्यायिक समितिको प्रतिवेदन समेत सभामा पेश गर्नुभएको थियो।

सभामा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम तथा विभिन्न विधेयकहरूमाथि नगरसभा सदस्यहरूबीच विस्तृत छलफल भएको थियो। छलफलपछि नगरसभाले सबै प्रस्ताव तथा विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको हो।

नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेटमा कृषि उत्पादन वृद्धि, स्थानीय उद्यम प्रवर्द्धन, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ।

नगरप्रमुख कर्णबहादुर थापाले नीति तथा कार्यक्रमअनुसार स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगारका अवसर सिर्जना, शैक्षिक गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवामा पहुँच विस्तार तथा आधारभूत पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

गत असार ८ गतेदेखि सुरु भएको त्रिवेणी नगरपालिकाको नगरसभा अधिवेशन असार १० गते बजेट तथा महत्त्वपूर्ण विधेयकहरू पारित गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

नयाँ बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका विकास निर्माण तथा प्रशासनिक गतिविधिहरु कार्यान्वयन गर्ने मार्ग प्रशस्त भएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया