गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:३५

जिल्लामै पहिलो: त्रिवेणी नगरपालिका केन्द्रमा कालोपत्रे सडक, मोटरेबल पुलको प्रतीक्षा अझै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार ०४, २०८३
जिल्लामै पहिलो: त्रिवेणी नगरपालिका केन्द्रमा कालोपत्रे सडक, मोटरेबल पुलको प्रतीक्षा अझै

बाजुरा ः बाजुराका नौ स्थानीय तहमध्ये पालिका केन्द्रमा कालोपत्रे सडक निर्माण गर्ने पहिलो स्थानीय तहका रुपमा त्रिवेणी नगरपालिका स्थापित भएको छ। नगरपालिकाको केन्द्र तोली क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

नगर प्रमुख कर्णबहादुर थापाका अनुसार सघन सहरी विकास कार्यक्रम अन्तर्गत करिब १२ करोड रुपैयाँको लागत अनुमान गरिएको उक्त योजनाको ९ करोड रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण कार्य सञ्चालन भइरहेको छ। यो सडक मौरेदेखि छतारासम्म हुँदै अछामको मेल्लेख गाउँपालिका सिमानासम्म कालोपत्रे गरिनेछ।

नगर प्रमुख थापाले सडक पूर्वाधार विस्तारसँगै त्रिवेणीको विकासले नयाँ गति लिएको बताए। उनका अनुसार सडक कालोपत्रे भएपछि स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै व्यापार, कृषि तथा सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पर्नेछ।

यद्यपि, बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकालाई जोड्ने बुढीगंगा नदीमाथिको मोटरेबल पुल निर्माण नहुँदा स्थानीयवासीले अझै सास्ती खेप्नुपरेको उनले दुःख व्यक्त गरे। ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माण कार्यले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ।

आफ्नो कार्यकाल समाप्त हुनुअघि नै मोटरेबल पुल निर्माण सम्पन्न भई नागरिकले सहज रुपमा आवतजावत गर्न पाएको देख्न पाए आफूलाई ठूलो सन्तुष्टि मिल्ने नगर प्रमुख थापाले बताए।

“सडक कालोपत्रे हुँदैछ, विकास गाउँ-गाउँसम्म पुग्दैछ। समृद्ध त्रिवेणी निर्माणको अभियानलाई हामी थप तीव्रताका साथ अघि बढाइरहेका छौँ,” नगर प्रमुख थापाले भने।

त्रिवेणी नगरपालिकामा सडक तथा अन्य पूर्वाधार विकासका कामहरु अघि बढेसँगै स्थानीयबासीमा विकासप्रति नयाँ आशा र उत्साह जागेको छ।

प्रतिक्रिया