गाैमुल खबर डटकम शनिबार २७, भदौ २०८३ ०८:५०

‘समृद्ध गौमुल’ को महाअभियान : प्रत्येक वडा केन्द्रमा बाह्रै महिना सडक, १० शैयाको अस्पताल सञ्चालनदेखि कृषि-पर्यटन मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणको लक्ष्य

अध्यक्ष हरिबहादुर रोकायाद्वारा आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई उच्च प्राथमिकता
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार ०४, २०८३
‘समृद्ध गौमुल’ को महाअभियान : प्रत्येक वडा केन्द्रमा बाह्रै महिना सडक, १० शैयाको अस्पताल सञ्चालनदेखि कृषि-पर्यटन मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणको लक्ष्य

बाजुरा ः गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि “सुशासन, दिगो विकास र समृद्धि” को दीर्घकालीन सोचसहित महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, खानेपानी, रोजगार तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले प्रत्येक वडा केन्द्रसम्म बाह्रै महिना सञ्चालन हुने सडक सञ्जाल विस्तार गर्ने, दश शैयाको अस्पताल सञ्चालनमा ल्याउने, स्थानीय उत्पादनको बजारीकरण गर्ने तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ।

अध्यक्ष रोकायाले गौमुललाई कृषि, पर्यटन र जलस्रोतको सम्भावना बोकेको क्षेत्रका रूपमा विकास गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले रैथाने बाली, फलफूल तथा जडीबुटी उत्पादनमा वृद्धि गरी ‘गौमुल’ ब्रान्ड मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान स्थापित गर्ने नीति लिइएको बताए।

कृषिमा विशेष जोड

नीति तथा कार्यक्रमले कोदो, फापर, कागुन, चिनो र जौँजस्ता रैथाने बालीको व्यावसायिक उत्पादनमा अनुदान दिने व्यवस्था गरेको छ।

वडा नम्बर १, २ र ३ मा आलु तथा सिमी पकेट क्षेत्र विकास गरिने भएको छ भने सबै वडामा फलफूल र जडीबुटी खेती विस्तार कार्यक्रम सञ्चालन गरिनेछ।

भेडा-च्याङ्ग्रा पालन, कृषि बीमा, साना सिँचाइ आयोजना, कृषि यान्त्रिकीकरण तथा कृषि उपज सङ्कलन केन्द्रको स्तरोन्नतिलाई समेत प्राथमिकतामा राखिएको छ।

दश शैयाको अस्पताल अब सञ्चालनमा

गाउँपालिकाले निर्माण सम्पन्न भइसकेको दश शैयाको अस्पतालमा विद्युत् जडान गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आधारभूत अस्पतालमा अत्याधुनिक उपकरण, टेलिमेडिसिन सेवा तथा २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था गरिने भएको छ।

साथै गाउँका दुर्गम बस्तीमा स्वास्थ्य सेवा विस्तार, प्रसूति गृह निर्माण, पोषण सुधार अभियान र नियमित स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने जनाइएको छ।

शिक्षामा प्रविधि र गुणस्तर सुधार

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने, शिक्षकको क्षमता अभिवृद्धि गर्ने, छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने तथा बाजुरा क्याम्पसमा अध्ययनरत गौमुलका विद्यार्थीलाई विशेष सहयोग उपलब्ध गराउने नीति लिइएको छ।

एक वडा एक नमुना विद्यालय, विद्यालय स्वास्थ्य सचेतना अभियान, इको–क्लब गठन तथा बालमैत्री सिकाइ वातावरण निर्माणलाई समेत प्राथमिकता दिइएको छ।

पर्यटन र जलस्रोतबाट आर्थिक समृद्धिको लक्ष्य

गौमुल पर्यटन क्षेत्र विकासका लागि पर्यटन गुरुयोजना तयार गरिने भएको छ। घट्मुना–गौमुल पर्यटकीय सडक निर्माण, धार्मिक स्थल संरक्षण, धर्मशाला निर्माण तथा देउडा संस्कृतिको संरक्षणमार्फत पर्यटन प्रवर्द्धन गरिने नीति ल्याइएको छ।

यस्तै, ‘गौमुल-जल’ परियोजनाअन्तर्गत पानी प्रशोधन तथा बजारीकरणको सम्भाव्यता अध्ययन गरी जलस्रोतलाई आर्थिक समृद्धिको आधार बनाउने योजना सार्वजनिक गरिएको छ।

पूर्वाधार विकासमा ठूलो लगानी

गाउँपालिका केन्द्रदेखि सबै वडा केन्द्रसम्मको सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालन सुनिश्चित गरिने भएको छ।

स्वास्थ्य संस्था र विद्यालयसम्म सडक पहुँच विस्तार, झोलुङ्गे पुल निर्माण तथा फनपार्क-अस्पताल सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ।

साथै खरको छानामुक्त पालिका अभियान, घरविहीन परिवारलाई आवास सहयोग, सार्वजनिक शौचालय तथा बसपार्क निर्माण गर्ने कार्यक्रम पनि अघि सारिएको छ।

सुशासन र सेवा प्रवाहमा सुधार

गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने जनाएको छ। करदाता शिक्षा विस्तार, सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ, उत्कृष्ट कर्मचारी पुरस्कार तथा बेरुजु न्यूनीकरण अभियान सञ्चालन गरिने भएको छ।

अध्यक्ष रोकायाको विश्वास

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष हरिबहादुर रोकायाले सबै तहका सरकार, विकास साझेदार, नागरिक समाज तथा सम्पूर्ण गौमुलबासीको सहयोगबाट मात्रै ‘समृद्ध गौमुल’ निर्माणको सपना साकार हुने बताए।

उनले नीति तथा कार्यक्रममा समेटिएका योजनाहरूको प्रभावकारी कार्यान्वयन भएमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्दै गौमुललाई आत्मनिर्भर र समृद्ध गाउँपालिकाका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया