गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०२:५८

रानीसैन-लाम्पाटा घटनामा भोटे जनजाति सेवा संघको कडा आपत्ति, दोषी माथि कारबाही र प्रहरी चौकी स्थापनाको माग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ १०, २०८३
रानीसैन-लाम्पाटा घटनामा भोटे जनजाति सेवा संघको कडा आपत्ति, दोषी माथि कारबाही र प्रहरी चौकी स्थापनाको माग

बाजुरा ःनेपाल भोटे जनजाति सेवा संघ केन्द्रीय कार्यालय बाजुराले हिमाली गाउँपालिका-३ स्थित ताम्सासोना (लाम्पाटा) क्षेत्रमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नमाथि कारबाही, घाइतेहरूको निःशुल्क उपचार तथा क्षेत्रको शान्ति सुरक्षाका लागि तत्काल प्रहरी चौकी स्थापना गर्न माग गरेको हो ।

संघले जेठ ३ गते लाम्पाटा क्षेत्रमा भएको घटनालाई लिएर हुम्लास्थित केही राजनीतिक दलहरुले “रानीसैन–लाम्पाटा घटना हल्ला मात्र भएको” भन्दै जारी गरेको संयुक्त विज्ञप्तिप्रति आपत्ति जनाएको छ ।

विज्ञप्तिमा घटनालाई सामान्यीकरण गरिएको र घाइते तथा पीडितप्रति मानवीय संवेदना समेत नदेखाइएको आरोप संघको छ । ज्ञापनपत्रमा लाम्पाटा क्षेत्रमा बसोबास गर्दै आएका भोटे समुदायमाथि विगतदेखि नै विभिन्न प्रकारका दबाब, कुटपिट तथा लुटपाटका घटना हुँदै आएको उल्लेख गरिएको छ ।

जेठ ३ गते करिब ३०० जनाको समूहले योजनाबद्ध रुपमा स्थानीयबासी माथि सांघातिक आक्रमण गरेको, घरमा तोडफोड गरिएको तथा महिला माथि समेत दुर्व्यवहार भएको संघको दाबी छ ।

संघका अनुसार घटनामा हिमाली गाउँपालिका-३ का वडा सदस्य पेमा गारा गुरुङ सहित स्थानीयबासी घाइते भएका छन् । घाइतेहरुलाई उपचारमा जान समेत अवरोध गरिएको र सुरक्षाकर्मी तथा समाचार संकलनमा गएका पत्रकार माथि समेत आक्रमण भएको आरोप ज्ञापनपत्रमा उल्लेख छ ।

संघले यो विषय कुनै सीमा विवाद नभई आफ्नो समुदायको ऐतिहासिक बसोबास र अधिकारसँग जोडिएको विषय भएको जिकिर गरेको छ । लाम्पाटा, रानीसैन तथा आसपासका क्षेत्रहरुमा भोटे समुदायले लामो समयदेखि बसोबास गर्दै आएको, धार्मिक तथा सामाजिक गतिविधि समेत सञ्चालन गर्दै आएको दाबी गरिएको छ ।

ज्ञापनपत्र मार्फत संघले घटनामा संलग्न व्यक्तिहरु माथि कानुनी कारबाही गर्न, घाइतेहरूको उपचारको व्यवस्था मिलाउन, भौतिक तथा मानसिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन तथा लाम्पाटा क्षेत्रमा स्थायी प्रहरी चौकी स्थापना गर्न माग गरेको छ ।

साथै, रानीसैन क्षेत्रमा आवतजावतमा समस्या भएको भन्दै पुल निर्माण र बाटो सुधारको माग समेत गरिएको छ । संघले केही सार्वजनिक अभिव्यक्ति मार्फत भोटे समुदायको अपमान गरिएको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रुपमा माफी माग्न समेत आग्रह गरेको छ ।
 

प्रतिक्रिया