गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४२

एसइई नतिजामा गौमुल गाउँपालिकाको सुधार : उत्तीर्ण प्रतिशतमा उत्साहजनक वृद्धि

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २९, २०८३
एसइई नतिजामा गौमुल गाउँपालिकाको सुधार : उत्तीर्ण प्रतिशतमा उत्साहजनक वृद्धि

बाजुरा ः गौमुल गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विगतका वर्षहरुको तुलनामा सुधार हासिल गरेको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुको नतिजा हेर्दा विद्यार्थीको उत्तीर्ण प्रतिशत बढेको देखिएको हो ।

गाउँपालिकाले सार्वजनिक गरेको एसइई नतिजा २०८२ अनुसार विभिन्न विद्यालयका विद्यार्थीहरुले सन्तोषजनक सफलता हासिल गरेका छन् । समग्रमा गाउँपालिकाको औसत उत्तीर्ण प्रतिशत करिब ६९ प्रतिशत पुगेको छ, जसलाई शिक्षा क्षेत्रमा सकारात्मक उपलब्धिका रुपमा हेरिएको छ ।

यस वर्ष कीर्तिचौर माध्यमिक विद्यालयले १०० प्रतिशत नतिजा ल्याएर उत्कृष्ट सफलता हासिल गरेको छ भने अन्य विद्यालयहरूको नतिजामा पनि सुधार देखिएको छ । गाउँपालिकाभित्रका अधिकांश विद्यालयहरुले अघिल्लो वर्षको तुलनामा राम्रो नतिजा ल्याएपछि शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरु केही उत्साहित बनेका छन् ।

शिक्षकहरुको मेहनत, अभिभावकको चासो र गाउँपालिकाको शैक्षिक सुधार अभियानका कारण नतिजामा सकारात्मक परिवर्तन आएको स्थानीय सरोकारवालाहरुको भनाई रहेको छ ।

विशेषगरी नियमित पठनपाठन, अतिरिक्त कक्षा सञ्चालन तथा विद्यार्थीमाथिको निगरानीले नतिजा सुधारमा टेवा पुगेको बताइएको छ । गाउँपालिकाले आगामी वर्षहरुमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गरी एसइई नतिजालाई थप गुणस्तरीय बनाउने लक्ष्य लिएको जनाएको छ ।

विद्यालयगत (एसइई)  नतिजा २०८२

  • अम्लिस मावि (सामान्य) : जम्मा २३ विद्यार्थीमध्ये ८ जना उत्तीर्ण र १५ जना अनुत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत ३४.७८ रहेको छ ।
  • फुलपाटा मावि (सामान्य) : १५ विद्यार्थीमध्ये ८ जना उत्तीर्ण र ७ जना अनुत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत ५३.३३ रहेको छ ।
  • जनज्योति मावि (सामान्य) : १७ विद्यार्थीमध्ये ८ जना उत्तीर्ण र ९ जना अनुत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत ४७.०५ रहेको छ ।
  • कीर्तिचौर मावि (सामान्य) : १५ विद्यार्थीमध्ये सबै १५ जना उत्तीर्ण भएका छन् । विद्यालयले १०० प्रतिशत नतिजा ल्याएको छ ।
  • कीर्तिचौर मावि (प्राविधिक) : २३ विद्यार्थीमध्ये ५ जना उत्तीर्ण र १८ जना अनुत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत २१.७३ रहेको छ ।
  • मानाकोट मावि (सामान्य) : ३५ विद्यार्थीमध्ये २८ जना उत्तीर्ण र ७ जना अनुत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत ८० रहेको छ ।
  • बालविकास मावि (सामान्य) : ३५ विद्यार्थीमध्ये २७ जना उत्तीर्ण र ८ जना अनुत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत ७७.१४ रहेको छ ।

प्रतिक्रिया