बाजुरा ः बाजुराको साहित्यिक क्षेत्रमा नयाँ उत्साह थप्ने उद्देश्य सहित सुदूर साहित्य प्रतिष्ठान, बाजुराले मुक्तककार वीर बहादुर बिष्टद्वारा लिखित बाजुरेली खस भाषाको मुक्तक संग्रह “खण्सापका मुक्तकहरू” सार्वजनिक हुने भएको छ ।
प्रतिष्ठानको आयोजनामा हुने उक्त विमोचन कार्यक्रम आगामी वैशाख २७ गते आइतबार दिउँसो १ बजे बडीमालिका नगरपालिका हल, मार्तडीमा आयोजना गरिने आयोजकले जनाएको छ ।
स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यस कृतिमा बाजुरेली खस भाषाका मौलिक भाव, ग्रामीण जीवन, समाजका यथार्थ र सांस्कृतिक पक्षलाई मुक्तक मार्फत प्रस्तुत गरिएको लेखक वीर बहादुर बिष्टले बताएका छन् ।
कार्यक्रममा जिल्लाका साहित्यकार, सर्जक, बुद्धिजीवी, विद्यार्थी तथा साहित्यप्रेमीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजक सुदूर साहित्य प्रतिष्ठानले कार्यक्रममा उपस्थित भई साहित्यिक अभियानलाई सफल बनाउन सम्पूर्ण साहित्यप्रेमीमा हार्दिक निमन्त्रणा समेत गरेको छ ।
साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै स्थानीय भाषामा सिर्जना भएका कृतिहरूको संरक्षण र प्रवद्र्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।





प्रतिक्रिया