बाजुरा ः जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा गौमुल गाउँपालिका-४ अन्तर्गत मानाकोट स्वास्थ्य चौकीमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा ३३ जना पुरुष र ३७ जना महिला गरी जम्मा ७० जना सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो ।
दुर्गम क्षेत्रमा रहेका नागरिकहरुलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले स्थानीयबासीमा सकारात्मक प्रभाव पारेको छ ।
उक्त शिविरमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराबाट खटिनु भएका डाक्टर नगेन्द्र मल्ल लगायतको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेका थिए ।
त्यस्तै, मानाकोट स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्यकर्मीहरु तथा महिला स्वयंसेविकाहरुको सक्रिय सहभागिता र सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।
वडा अध्यक्ष अमर विकले यस्तो महत्वपूर्ण कार्यक्रम सफल बनाउन योगदान दिने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेविका तथा सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्ता सेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“जनताको सेवा नै हाम्रो कर्तव्य हो,” वडा अध्यक्ष विकले भन्नुभयो, “हामी सधैं जनताको समस्यासँगै उभिनेछौं र उनीहरुको मन जित्ने कामलाई निरन्तरता दिनेछौं ।”
स्थानीय तहको सक्रियता, स्वास्थ्यकर्मीहरुको समर्पण र जनप्रतिनिधिको जनमुखी सोचका कारण यस्ता कार्यक्रमहरुले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
यसले वडा अध्यक्ष अमर विक सहित जनप्रतिनधि जनताको सेवामा निरन्तर सक्रिय र समर्पित रहेको सन्देश समेत दिएको छ ।





प्रतिक्रिया