घट्मुना ः जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा गौमुल गाउँपालिका वडा नं. ४ अन्तर्गत मानाकोट स्वास्थ्य चौकी, निलासैनमा भोलि २०८२ साल चैत्र २९ गते बिहान १० बजेदेखि जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
उक्त शिविरमा अनुभवी स्वास्थ्यकर्मीहरुको टोलीद्वारा जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिने भएको छ ।
ग्रामीण क्षेत्रका जेष्ठ नागरिकलाई सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष अमर विकले बताएका छन् ।
कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण जेष्ठ नागरिक तथा उनका परिवारजनलाई उपस्थित भई सेवा लिन आग्रह गरेका छन् । उनले भने, “हाम्रा अग्रजहरू हाम्रो समाजका आधार स्तम्भ हुनुहुन्छ ।
उहाँहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिनु हामी सबैको साझा जिम्मेवारी हो । यस्तो अवसर बारम्बार नआउन सक्छ, त्यसैले सबैजना अनिवार्य रुपमा उपस्थित भई सेवा लिनुहोस् ।”
उनले थपे, “हामीले तपाईंहरुको सेवा र सम्मानका लागि यो शिविर आयोजना गरेका हौं । तपाईंहरुको एक दिनको समयले तपाईंको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन सक्छ ।
आउनुहोस्, आफ्नो स्वास्थ्यप्रति सजग बनौं र स्वस्थ समाज निर्माणमा सँगै अघि बढौं ।” शिविरमा अधिक भन्दा अधिक सहभागिता जनाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिएको छ ।





प्रतिक्रिया