बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-३ मा अवस्थित रौदीगाड लघुजलविद्युत आयोजना पहिरोका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । लगातारको हिउँदे वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउस माथिबाट ठूलो क्षति पुर्याएको हो ।
उपभोक्ता समितिका सचिव भक्त वि.क.का अनुसार पहिरोले पावर हाउस मात्र होइन, विद्युत् उत्पादनका लागि निर्माण गरिएको नहर समेत बगाएको छ । “वर्षासँगै आएको पहिरोले सम्पूर्ण संरचना नै अवरुद्ध बनाएको छ, अहिले विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको अवस्था छ,” उनले बताए ।
२०६९ साल चैत २५ गते निर्माण सम्पन्न भएको उक्त आयोजना मार्फत करिब ३५० घरपरिवार लाभान्वित हुँदै आएका थिए । आयोजना बन्द भएपछि स्थानीयबासी पुनः अन्धकारमा बस्न बाध्य भएका छन् भने दैनन्दिन जीवन कष्टकर बनेको छ ।
स्थानीयबासीले तत्काल मर्मत तथा पुनःनिर्माणका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन् । हिउँदे वर्षाका कारण आएको यो विपत्तिले ग्रामीण क्षेत्रमा सञ्चालित साना जलविद्युत् आयोजनाहरू कति जोखिममा छन् भन्ने पनि उजागर गरेको छ ।
यस घटनाले प्राकृतिक विपद् व्यवस्थापन र पूर्वतयारीको आवश्यकता थप स्पष्ट बनाएको सरोकारवालाहरुको भनाइ रहेको छ । अहिले प्रभावित क्षेत्रका बासिन्दाहरूले राहत तथा वैकल्पिक ऊर्जा व्यवस्थाको माग गर्दै आएका छन् ।
यता वडा अध्यक्ष गोरख बोहराले अकल्पनीय घटना भएकोले तत्काल गौमुल सरकार, प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरी आवश्यक पहल गरिने बताएका छन् ।





प्रतिक्रिया