गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३०
Dho

अक्सिजन अभावका कारण हुम्लाकी सुत्केरी आमाको बाजुरामा मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष २४, २०८०
अक्सिजन अभावका कारण हुम्लाकी सुत्केरी आमाको बाजुरामा मृत्यु

बाजुरा : जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरी आमाको सोमबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको छ । हुम्ला जिल्ला ताजाकोट गाउँपालिकाकी–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । 

सुत्केरी बुढाको मुटुले कम काम गरेको, स्वास फेर्न समस्या, टाउको दुख्ने, ज्वरो आउने र खकारबाट रगत आउने लक्षण देखा परेको थियो । गत पौष १२ गते सुत्केरी गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए  ।

 सुत्केरी भएको ११ दिन पछि बुढाको स्वास्थ्यमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जित बहादुर वुढाले बताए । उहाँले सुत्केरी भए देखि बुहारी र नातिनीको अवस्था ठिक भए पनि एक्कासी बुहारीलाई ज्वरो आएको र टाउको दुख्यो भनेपछि थप उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको बताएका छन् ।

सोमबार दिउसो स्वास्थ्य केन्द्र कोल्टी पुर्याइए पनि उपचारका क्रममा बुढाको राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डाक्टर रञ्जित शाहले बताए । सुत्केरी अवस्थामा अक्सिजनको कमी दुबै पट्टीको छातिमा पानी जमेको हुँदा तत्काल आईसीयु र भेन्टिलेरमा राखेर उपचार नहुँदा मृत्यु भएको डाक्टर शाहको भनाई रहेको छ ।

डाक्टर शाहले सुत्केरी अवस्थामा सामान्य तया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनुपर्ने भए पनि कोल्टी पुग्दा सुत्केरी बुढाको ४० मात्रै रहेको बताए । सुत्केरी भएको ६ हप्ता सम्म स्याहार गर्नुपर्ने भए पनि स्याहार सुसारमा पनि कमी देखिएको बताए । त्यस्तै समयमा हवाई उद्धार नभएको र उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसक्दा सुत्केरी बुुढाको अकालमा ज्यान गएको हो ।

अवस्था जटिल भए पनि सुत्केरी बुढाको समयमा उद्धार हुन सकेको थिएन । हवाई उद्धार गरी थप उपचारका लागि सुविधायुक्त ठाउँमा लिन सकिएको भए ज्यान जोगाउन सकिने डाक्टर शाहको भनाई छ । तर यता नवजात शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको भनाई रहेको छ ।

अक्सिजनको माध्यामबाटै कोल्टीमा उपचार भए पनि अवस्था जटिल हुदाँ समस्या भएको हो । अवस्था जटिल हुदा उपचारका लागि आएकी बुढालाई तत्काल रिफर गरिएको भएपनि परिवारले समयमा उद्धार गर्न नसक्दा समस्या निम्तिएको हो ।

स्वास्थ्य संस्थामा सुत्केरी भएपनि चिसो मौसममा खानपान र स्वास्थ्यमा ध्यान नदिदा मृत्यु भएको हो । घरबाट आधा घण्टाको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा सुत्केरी भएको १३ दिन पछि बुढाको स्वास्थ्यमा फेरी समस्या आएको थियो । घर परिवारको लापरबाहीका कारण स्वास्थ्यमा ख्याल नदिदा र उद्धारका लागि कुनै ठाउँमा पहल नहुदाँ यस्तो अवस्था सिर्जना भएको हो । 

प्रतिक्रिया