गाैमुल खबर डटकम मङ्गलबार ०३, चैत २०८२ ०३:१८

संरचना र सेवा विस्तारसँगै कोल्टी अस्पतालमा सुधार, दुर्गमका बिरामीलाई सहज उपचार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत ०२, २०८२
संरचना र सेवा विस्तारसँगै कोल्टी अस्पतालमा सुधार, दुर्गमका बिरामीलाई सहज उपचार

बाजुरा ःबाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी आधारभूत अस्पतालको संरचना र सेवा विस्तारसँगै अस्पतालको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ। पुरानो संरचनाबाट नयाँ भवनमा स्थानान्तरण भएसँगै अस्पतालले अहिले थप सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ।

विगत तीन वर्षदेखि अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा सुरु भएपछि स्थानीय बासिन्दाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको छ। यसअघि अस्पतालमा नियमित रूपमा डाक्टर नबस्ने समस्या थियो। बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा निर्वाचित भएपछि स्वास्थ्य सेवामा सुधार आएको स्थानीयबासी बताउँछन्।

अस्पतालमा सेवा विस्तार हुनुका साथै चिकित्सकहरू पनि नियमित रूपमा उपस्थित हुन थालेका छन्। अस्पतालले आयोजना गर्ने स्वास्थ्य शिविर र नियमित उपचार सेवाका कारण कुण्डा क्षेत्रका चारवटै हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिका सहित मुगु, हुम्ला र कालिकोट जिल्लाका स्थानीयवासी पनि उपचारका लागि कोल्टी आउने गरेका छन्।

अस्पतालका सूचना अधिकारी प्रेम नेपालीका अनुसार अस्पतालमा दैनिक ६० देखि १०० जनासम्म बिरामीले सेवा लिने गरेका छन्। सेवा विस्तार र गुणस्तर सुधारसँगै कोल्टी अस्पताल क्षेत्रीय रूपमा स्थापित हुँदै गएको उनले बताए। आगामी आर्थिक वर्षको साउन महिनादेखि ‘निक्साइन’ नामक चिकित्सक टोली अस्पतालमा सेवा दिन आउने तयारी भएको छ।

विशेषज्ञसहित पाँच जना चिकित्सक पाँच वर्षसम्म सेवा दिने गरी सम्झौता भइसकेको र अहिले कार्यान्वयनको चरणमा पुगेको बताइएको छ। चिकित्सकहरूको सेवा-सुविधा निक्साइन संस्थाबाट उपलब्ध गराइनेछ भने बसोबासको व्यवस्था बुढीनन्दा नगरपालिकाले गर्नेछ।

यसैबीच, कोल्टी आधारभूत अस्पताललाई भविष्यमा ५० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्यसहित संरचना विकासका लागि अमेरिकास्थित एक सामाजिक संस्थासँग पनि सम्झौता गरिएको छ। हाल अस्पतालका कार्यालय प्रमुखका रूपमा एमडिजिपी डाक्टर रञ्जीत कुमार शाह कार्यरत छन्।

अस्पतालमा डेन्टल सेवा, एक्स-रे, ल्याब सेवा, सामान्य शल्यक्रिया तथा आकस्मिक प्रसूति सेवा उपलब्ध रहेको छ। साउनदेखि सेवा दिन आउने चिकित्सक टोलीले अस्पतालको अवस्थाबारे स्थलगत अवलोकन गरी नगरपालिकासँग छलफल समेत गरिसकेको छ।

टोलीले अस्पतालका बेड परिवर्तन गर्न, केही उपकरण सुधार गर्न तथा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री थप गर्न सुझाव दिएको जनाएको छ। पाँच वर्षसम्म सेवा दिन आउने उक्त चिकित्सक टोलीको आगमनसँगै दुर्गम क्षेत्रका विपन्न स्थानीयवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने र यसले क्षेत्रीय स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया