बाजुरा ः शिक्षा नै समाज परिवर्तनको मुख्य आधार हो भन्ने विश्वासका साथ बाजुराको गौमुल गाउँपालिकाले दलित समुदायका विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने उद्देश्यले छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले दलित छात्र-छात्राहरुलाई लक्षित गर्दै उच्च शिक्षा अध्ययन गरिरहेका ११७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।
गाउँपालिकाका अनुसार बाजुरा क्याम्पसमा अध्ययनरत १०१ जना विद्यार्थी तथा जिल्ला बाहिर विभिन्न क्याम्पसमा अध्ययन गरिरहेका १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । यसअघि पनि गाउँपालिकाले बाजुरा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको थियो ।
आर्थिक रुपमा कमजोर तथा अवसरबाट बञ्चित समुदायका विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । यो छात्रवृत्ति कार्यक्रम वडा अध्यक्ष अमर विकको पहल र सक्रियतामा अगाडी बढाइएको बताइएको छ ।
वडा अध्यक्ष विकका अनुसार छात्रवृत्तिको नाम “दलित छात्रवृत्ति” राखिएपनि वितरणका क्रममा सबै विद्यार्थीलाई समान रूपमा अवसर र सहयोग प्रदान गरिएको छ । वडा अध्यक्ष अमर विकले भने, “हामीले शिक्षा नै दीर्घकालीन परिवर्तनको आधार हो भन्ने विश्वास राखेका छौँ ।
दलित समुदायका धेरै विद्यार्थी आर्थिक अभावका कारण उच्च शिक्षा छोड्न बाध्य हुने अवस्था छ । त्यसैले गाउँपालिकाको सहयोगमा उनीहरुलाई पढाइ जारी राख्न प्रोत्साहन दिन यो कार्यक्रम अघि बढाइएको हो । नाम दलित छात्रवृत्ति भएपनि हामीले सबैलाई समान रुपमा सहयोग गरेका छौँ ।”
गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले शिक्षा क्षेत्रमा लगानी गर्नु भनेको समाजको भविष्यमा लगानी गर्नु भएको बताउँदै यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई थप हौसला दिने बताएका छन् । अध्यक्ष रोकायाले भने,“हाम्रो गाउँपालिकाको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य र समावेशी विकास हो ।
विशेष गरी पछाडी पारिएका समुदायका विद्यार्थीलाई उच्च शिक्षासम्म पु¥याउने लक्ष्य सहित यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो । आगामी दिनमा अझ प्रभावकारी ढंगले यस्ता कार्यक्रम विस्तार गरिनेछ ।”
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले पनि छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरुको मनोबल बढाउने र अभिभावकलाई समेत राहत मिल्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्,“धेरै विद्यार्थीहरु आर्थिक अभावका कारण पढाइ रोक्नुपर्ने अवस्थामा पुग्छन् ।
गाउँपालिकाको यो पहलले उनीहरुलाई पढाइमा निरन्तरता दिन मद्दत गर्नेछ । विशेषगरी दलित समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षातर्फ आकर्षित गर्न यो कार्यक्रम महत्त्वपूर्ण कदम हो ।”
स्थानीय सरोकारवालाहरुले पनि गाउँपालिकाको यो पहललाई सकारात्मक रुपमा लिएका छन् । उनीहरूका अनुसार शिक्षा क्षेत्रमा यस्ता सहयोग कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई ठूलो प्रेरणा मिल्नेछ ।
गाउँपालिकाले आगामी वर्षहरूमा पनि शिक्षा क्षेत्रमा यस्तै सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । स्थानीय तहबाट गरिएको यस्तो पहलले बाजुराका विद्यार्थीहरुको भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।





प्रतिक्रिया