गाैमुल खबर डटकम बुधबार २०, फागुन २०८२ ००:५८

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन १९, २०८२
आज खण्डग्रास चन्द्रग्रहण लाग्ने

 काठमाडौं  : नेपालमा फागुन १९ गते मंगलबार खण्डग्रास चन्द्रग्रहण देखिँदै छ। काठमाडौंको आकाशमा निकै अद्भुत दृश्य देखिने बताइएको छ। तराईमा होली मनाइरहँदा फागुन शुक्ल पूर्णिमाका दिन साँझ करिब १ घन्टा उक्त खगोलिय घटना हुनेछ। वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् डा. जयन्त आचार्यले अन्नपूर्णसँग भने,‘नेपालका विभिन्न भागबाट यो ग्रहण स्पष्ट देखिनेछ।

यो विशेष किसिमको दुर्लभ खगोलीय घटना रहनेछ।’ उनी बेयन्ड इन्टरनेसनल इयर अफ एस्ट्रोनोमीका नेपाल अध्यक्ष हुन्। उनका अनुसार,मंगलबार साँझ चन्द्रमा उदाउँदा ग्रहण लागिसकेको हुनेछ। चन्द्रमाको आधाभन्दा बढी भाग ढाकिएको हुनेछ। ‘काठमाडौंमा साँझ ६ः०४ बजे चन्द्रमाको उदय हुनेछ।

चन्द्रमा क्षितिजबाट माथि आउँदा नै छायाँ देखिनेछ’,उनले भने,‘पृथ्वीको कालो छायाँले चन्द्रमालाई ढाकेको प्रष्ट हुनेछ। यो खगोलीय घटना करिब १ घन्टा देखिनेछ।’ साँझ ७:०४ बजे ग्रहण पूर्णरूपमा समाप्त हुने उनको भनाइ छ। त्यसपछि चन्द्रमा बिस्तारै पृथ्वीको छायाँबाट बाहिर निस्कनेछ।डा.आचार्यका अनुसार,यो ग्रहण अमेरिकाको पश्चिमी तटीय स्थानबाट सुरु हुन्छ। त्यसपछि जापान, चीन र ताइवानमा ग्रहण देखिनेछ।

‘मंगोलिया हुँदै यो ग्रहण नेपालको आकाशमा आइपुग्नेछ। नेपालमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेकै अवस्थामा रहनेछ’,उनले भने। अफ्रिका र युरोपका देशबाट भने यो दृश्य देख्न सकिनेछैन। यसलाई ‘ब्लड मुन’(रातो चन्द्रमा) को दिन भनिएको छ। खगोलप्रेमीका लागि यो निकै महत्वपूर्ण अवसर हो।साँझको समयमा फोटोग्राफीका लागि यो उत्कृष्ट रहनेछ। चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने खगोलविद्हरूको सुझाव छ। यसका लागि खास कुनै विशेष चस्मा पनि चाहिँदैन।

यो ग्रहणले मानिसको आँखालाई कुनै असर नगर्ने उनीहरूको भनाइ छ। खुला ठाउँबाट नांगो आँखाले ग्रहण हेर्न सकिन्छ। यो दृश्य हेर्दा एकदमै सुरक्षित महसुस हुनेछ भने प्रस्ट देख्न सकिनेछ। यसपछि भने २०८४ सालमा मात्र खण्डग्रास सूर्यग्रहण देखिनेछ। नेपालबाट देखिने अर्को ग्रहण सूर्यग्रहण मात्र हुनेछ। नेपाली समाजमा यसको विशेष धार्मिक प्रभाव रहन्छ। ज्योतिषीय गणनाअनुसार यसको छुट्टै महत्व रहेको छ।

शास्त्रीय नियमअनुसार मंगलबार बिहान ९ बजेअघि भोजन ग्रहण गरिसक्नुपर्नेछ। त्यसपछि भोजन निषेध गरिएको छ। बिहान ९ देखि साँझ ७:०४ बजेसम्मको समयलाई ग्रहणको सूतक समय मानिएको छ। तर, बालबालिकाका लागि यो नियम अनिवार्य छैन। वृद्धवृद्धा, रोगी र अशक्तहरूले भने भोजन गर्न पाउनेछन्। ग्रहण समाप्त भएपछि घर शुद्ध गर्ने चलन छ। त्यसपछि स्नान गरी दान दक्षिणा गर्ने परम्परा रहिआएको छ।

ज्योतिषीय गणनाअनुसार ८ राशिलाई दर्शन निषेध छ। ती राशिका लागि ग्रहण दर्शन कष्टप्रद हुन सक्छ। मेष र वृष राशि भएकाले ग्रहण नहेर्न भनिएको छ। कर्कट र सिंह राशिका लागि पनि यो निषेध छ। कन्या, धनु, मकर र कुम्भले पनि नहेर्न भनिएको छ। मेषलाई चिन्ता र वृषलाई व्यथा हुने योग छ। कर्कटलाई भने क्षति हुनसक्छ।

सिंहलाई घात र कन्यालाई व्यय हुने योग छ। तुलालाई लाभ र वृश्चिकलाई सुख प्राप्त हुनेछ। धनुलाई माननाश र मकरलाई भने कष्ट हुनेछ। कुम्भलाई स्त्रीपीडा र मीन राशिलाई सौख्य मिल्नेछ। मिथुन राशि भएकालाई भने यो चन्द्रग्रहण श्रीप्राप्तिको योग परेको छ।

प्रतिक्रिया