बाजुरा ःगौमुल गाउँपालिका-४ कालादहस्थित कीर्तिचौर माध्यमिक विद्यालयमा इतिहासमै पहिलो पटक शिक्षा सहयोग अक्षयकोष स्थापना गरिएको छ ।
शिक्षा, सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति समर्पित नेतृत्वको उदाहरण प्रस्तुत गर्दै वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकको विशेष पहलमा “स्वर्गीय विष्णु वाग्ले स्मृति शिक्षा सहयोग अक्षयकोष” स्थापना गरिएको हो ।
रंगेली नगरपालिका-९ दर्वेशा, विराटनगर मोरङ स्थायी घर भई हाल बेलायत (कारलायन रोड, यूके) बसोबास गर्दै आएका स्वर्गीय विष्णु वाग्लेको पवित्र स्मृतिमा उक्त अक्षयकोष स्थापना गरिएको निमित्त प्रधानाध्यापक मानबहादुर बडुवालले जानकारी दिएका छन् ।
विष्णु वाग्लेको श्रीमती विनिता वाग्ले, छोरा विवेक वाग्ले र विधान वाग्लेको उदार सहयोग तथा समाजसेवी शिवकुमार पन्तको संयोजनमा एक लाख ११ हजार १ सय रुपैयाँको अक्षयकोष स्थापना भएको हो । यस पुण्यकार्यले विद्यालय तथा समग्र समुदायमा शिक्षा क्षेत्रमा नयाँ आशा र उत्साह थपेको छ ।
वडा अध्यक्ष अमर विकले शिक्षा नै समाज रुपान्तरणको आधार भएको उल्लेख गर्दै गरिब, विपन्न, अनाथ, जेहेनदार तथा आर्थिक अभावका कारण अध्ययनबाट बञ्चित हुन सक्ने विद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताएका छन् ।
वडा अध्यक्ष विकको दूरदर्शी सोच, समन्वय क्षमता र शिक्षाप्रतिको प्रतिबद्धताले गाउँमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयबासीले बताएका छन् ।
यस ऐतिहासिक पहलले कीर्तिचौर माविमा मात्र नभई समग्र गौमुल गाउँपालिकामा शैक्षिक जागरणको नयाँ अध्याय सुरु गरेको विश्वास गरिएको छ ।
समुदायको हित, शिक्षा सुधार र भविष्यका पुस्ताको उज्ज्वल यात्राका लागि अमर विकको नेतृत्वमा भएका यस्ता कदमहरूले जनताको भरोसा अझ मजबुत बनाएको छ ।




प्रतिक्रिया