बाजुरा ः गौमुल गाउँपालिकाद्वारा सञ्चालित सामुदायिक रेडियो गौमुलले आज पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ । रेडियो गौमुल २०७७ माघ १० गतेबाट गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट औपचारिक रूपमा प्रशारण सुरु गरेको हो ।
सामुदायिक रेडियोका रुपमा स्थापित रेडियो गौमुलले समुदायको साथी बनेर समृद्धि, सुशासन र सूचनाको सारथीको भूमिका निर्वाह गर्दै आइरहेको छ । रेडियो सञ्चालनमा आएपछि गौमुल गाउँपालिका सहित समग्र बाजुराबासीले सहज रूपमा सूचना तथा समाचार प्राप्त गर्न थालेका छन् ।
विगतमा सञ्चारको पहुँच बाहिर रहेका स्थानीय बासिन्दा अहिले सूचना र सञ्चारको पहुँचमा पुगेका छन् । रेडियो मार्फत स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिका ताजा समाचार तथा जानकारी नियमित रुपमा प्राप्त भइरहेका छन् ।
रेडियोको स्थापना दिवसको अवसरमा आज दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको रेडियो सञ्चालन समिति अध्यक्ष ज्ञानबहादुर रोकायाले बताएका छन् । रेडियो गौमुलले हाल आफ्ना कार्यक्रम मध्ये करिब ५० प्रतिशत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
“आवाज विश्वासको हो” भन्ने मूल मर्मलाई आत्मसात गर्दै श्रोता तथा पाठक वर्गलाई उपयोगी, विश्वसनीय र तथ्यपरक सामग्री पस्किने लक्ष्यका साथ रेडियो अघि बढिरहेको रेडियोका स्टेशन प्रबन्धक रमित विकले बताउनुभयो ।
विकट भूगोलका कारण विभिन्न प्राविधिक बाधा अड्चनका बाबजुद पनि रेडियो गौमुलले आफ्नो प्रसारण सेवालाई क्रमशः सुधार र विस्तार गर्दै लगिरहेको उहाँको भनाइ रहेको छ ।
हाल रेडियो गौमुलबाट दैनिक ६ पटक स्थानीय समाचार, ३ वटा केन्द्रीय नेटवर्कसँगको साझेदारीमा समाचार प्रशारण, ‘रेडियो कार्यक्रम विकास र समृद्धि’, ‘गौमुल बहस’, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा स्थानीय संस्कार झल्काउने कार्यक्रमहरू सहित दैनिक १५ घण्टा प्रशारण हुँदै आएको छ ।




प्रतिक्रिया