गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५८
Dho

बुढीनन्दा नगरपालिकामा सामाजिक सद्भाव र विकासमा सहकार्य जोड्दै सहकर्मी समाज

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष १९, २०८०
बुढीनन्दा नगरपालिकामा सामाजिक सद्भाव र विकासमा सहकार्य जोड्दै सहकर्मी समाज

बाजुरा :  एउटा भनाई छ । गाउँमा घर टाढा मन नजिक हुन्छन्, शहरमा घर नजिक मन टाढा हुन्छन्  । तर भनाई जस्तै गाउँमा पनि सबैसँग सबैका मन र भावना भनेजस्तै नजिक हुदैनन् । कुनै न कुनै कारणले मन नजिक टाढा भइराख्छन् । टोल, वाडा, विचार सिद्धान्त अनि साथीसंगी आदि इत्यादि कुराहरुले गाउँ पनि नदेखिने र नसुनिने गरि भित्रभित्रै विभाजित र विभक्त हुने गरेका थुप्रै उदारण छन् । 

एक घरको अर्कोलाई मतलब नहुने र एकले अर्कोको समस्यामा साथ नदिने मात्रै होइन्, कुनै बस्ती टोलका घरहरु आफ्नै भएर पनि हातको पानी समेत खान नपरोस् भन्ने कठोर मन बनाएर विभाजित भएका थुप्रै तथ्यहरु गाउँ पुग्दा भेटिन्छन् । तर त्यो अवस्थाबाट बुढीनन्दा नगरपालिकाका गाउँहरु केही फरक र केही सुधारको लयमा भेटिए । 

सबै सुधार र सबै राम्रो अनि सोचेकै जस्तै अवस्था हुन अझै समय लाग्ला । सत प्रतिशत नजिता पनि नआउला तर सुधारको शुभ संकेत बुढीनन्दा नगरपालिकाका टोलहरुमा देखिएको छ । गाउँमा पुरुष भन्दा बढी महिला भेठिन्छन् । भेटिएकाहरु एकले अर्कासँगको सम्बन्ध, मेलमिलाप, बोलचाल अनि सहयोग साँटासाँटको अवस्था सबै अवस्थाले फरकपन देखिन थालेको छ । 

पालिका भित्र १० वटा वडा छन् । ती वटाका सबैजसो समेटिने गरि टोल सुधार समिति गठन गरिएको छ । एक वडामा ६ वटा टोल गठन गरिएको छ । त्यो अपुग भएको, र भौगोलिक विकटताले समेट्न समस्या देखिएको टोल वा गाउँमा थप गर्ने पालिकाले नै तयारी गरेको छ । ती टोल सुधार समितिहरु सरकारको काममा सहयोग पुर्याउने र सामाजिक सद्भाव र सहकार्य कायम गर्ने गरि गठन गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताए ।

पालिका भरिका ६० टोल समितिमा ६ हजारको संख्यामा सदस्य आवद्ध छन् । टोल समिति कम्तीमा ६० जना सदस्य संख्याको छ । टोलमा एक घर एक सदस्यको अवधारणा छ । त्यसमा पनि महिलालाई प्राथमिकतामा राख्ने गरिएको सहकर्मी समाज कार्यक्रमका प्रमुख डम्मर भण्डारीले बताए । 

सामाजिक सद्भाव र विकासमा सहकार्य जोड्न नगरपालिकाले थालेको सहकर्मी समाज अभियानले नै राजनीतिक आस्था, सिद्धान्त र विचार माथि उठेर विकासमा सहकार्य र श्रमदानको अवधारणा विकास भएको भन्नु हुन्छ भण्डारी । पालिकामा यो अवधारणा सञ्चालन गरिएको वर्षदिन पुग्न थाल्यो । 

१० वटै वडामा पालिका स्तरबाटै सहजकर्ता राखिएको छ । टोलटोलमा स्वयमसेवी भावनाले खट्ने सचेत युवाहरुलाई पनि सहयोगी र सहकार्यको भावना विकासका लागि अभियान्ताकै भूमिकामा परिचालन गरिएको छ । विकासमा सहकार्य र सद्भावका लागि सहकर्मीको अवधारणाले नै नयाँ अभ्यास सुरु हुन लागेकोमा नगर प्रमुख जनक कुमार बोहराले खुसी व्यक्त गरे ।

पैसा नभइ कुनै काम नहुने, धारा पँध्यरो सरसफाइमा कसैको ध्यान नजाने, सामाजिक काममा प्रतिको अपनत्व नै हटिसकेको र स्वार्थ बाहेक अरुमा ध्यान नहुने अवस्थाको सुधार ल्याउने अभियानका रुपमा सहकर्मी समाज अवधारणाको कार्यक्रमलाई बुढीनन्दाले प्राथमिकतामा राखेको छ । 

पालिकाले कार्यक्रम सञ्चालन पछि टोलमा मेलमिलाप बढेको, स्कुल जान बच्चाहरुकै लागि बाटो अफ्ठ्यरो थियो, त्यो पनि निर्माण गरिएको र आफ्ना लागि आफै गर्न सकिन्छ भन्ने चेतना समेत विकास भएको भन्नु हुन्छ, प्रगतिशिल टोल सुधार समितिका अध्यक्ष विस्ना चदाँरा । 

चदाँराकै टोलमा ४० बढी परिवार छन् । ती सबैको घरमा च्यागजुठ्यान निर्माण छन् । धारा पँध्येरा हरेकहप्ता सामुहीक सरसफाई गरिन्छ । शौचालय नभएको वा भत्केको घरमा सबैले श्रमदान गरेरै सनर्माण समेत गरिदिएको उदारण छ । पैसा नभएरै पनि धेरै काम गर्न सकिने रहेछ भन्ने सिकाइ सहकर्मी समाजले सिकाएको मिलिजुली टोल सुधार समूहकी अध्यक्ष किट्टी ल्वारले थपिन् ।

टोल सुधार समूहकै सक्रियतामा बुढीनन्दा नगरपालिका ५ का स्थानीयले करिब ६ लाख बढीको लागत लाग्ने बाटै श्रमदान बाटै मर्मत सहीत निर्माण गरेका छन् । यो वर्ष वर्षादमा भत्किएका काठे साँघुहरु पालिकाको बजेट खर्च गरेर निर्माण गर्नु पर्ने अवस्था नै धेरै कम रह्यो । सबै सहकर्मी अभियान अन्र्तगत नै निर्माण गरिएको भन्नु हुन्छ, नगर उपप्रमुख रामबहादुर बोहरा ।

कार्यक्रमको अवधारणा, अभ्यास र आपसी सहकार्य सबै राम्रो भएकोले पालिकाले बिशेष महत्व दिएर सञ्चालन गरेको बोहराले थपे । समाजमा मिलमिलाप पनि । सहकार्य सहितको विकास पनि । आपसी सहयोग र समन्वय पनि पालिका सरकारको उदेश्य पनि यही भएकोले सर्वसहमतिका साथ पाँचै वर्ष नगर सरकारले सहकर्मी अभियानलाई निरन्तरता दिन खोजेको भन्नु हुन्छ नगर प्रवक्ता जंगवीर रोकाया । 

जहाँको समाज एकतावद्ध छ । सामुहीक सहकार्यमा विश्वास गर्छ । समन्वय र सहयोगी भावनाले काम गर्छ । त्यो समाजको विकास अरुको भन्दा फरक र बढी छ । त्यही भावना र सिकाइ बाँड्ने उदेश्य सहकर्मी समाज निर्माण अभियान कार्यक्रमको रहेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताए । 

बुढीनन्दा नगरपालिकाले छोटो समयमै उपलब्धी हात पार्न सकेको कार्यक्रम नै सहकर्मी अभियान हो । नगर सरकारलाई गाउँ टोलका समस्या सुनाउने, सवाल तय गर्ने, समस्याको पहिचान गर्ने र सकेको आफै र आफ्नै सक्रियतामा सम्पन्न गर्ने गरिएको हातेमालो टोल सुधार समूहका सदस्य सर्पेलाल बुढाले बताए ।

स्थानीय पनि कार्यक्रम प्रति सन्तुष्ट छन् । सुधारमा भत्ता नभएको कार्यक्रम, पैसा नपदने काम मात्रै गराउने कार्यक्रम, भनेर गाली समेत पाइने अवस्था थियो । विस्तार बुझेपछि आफ्ना लागि आफुले नै गर्नु पर्ने सम्झीएर साथ सहयोग दिने गरेको बुढीनन्दा १० की सहजकर्ता पुष्पा खड्काले बताईन् । लगानी विनै धेरै काम हुने रहेछ, भन्ने सिकाइ नै कार्यक्रबाट भएको पुष्पाको भनाई छ ।

घरको एक जनालाई सामाजिक कार्यमा सक्रिय हुनु पर्ने अनिवार्य गराइएको छ । यस्ले आफ्नो काम प्रतिको अपनत्व, विकास प्रतिको जिम्मेवारी र लगानशिलता बढ्ने, सामुहीकताको विकास हुने र सामाजिक सहकार्य र सद्भावमा समेत फाइदा पुग्ने विश्वास स्थानीयले लिएका छन् । 

पालिकाका नगर प्रमुख, उपप्रमुख सहीतका जनप्रतिनिधी १० वटै वडाका पुगेर टोल समूहसँग सामुहीक संवाद गर्ने, सहकार्यको योजना सुनाउने र सुन्ने गरेका छन् । महिला महिला बीचको आपसी मित्रवत भावनाको विकास र सहकार्यमा सकारात्मक सन्देश प्रभाव गरिदिएको महिला अधिकार मञ्च बुढीनन्दाका अध्यक्ष शुशिला शाहीले बताइन् ।

वन हेर्ने हेराला, पानी मर्मतका लागि पलम्बर, बाटोघाटो, धारा पँध्यरो सरसफाइको पूर्व निर्धारित मिति तय गरेरै टोल समूहमा राखिएको हुन्छ । को आउने को नआउने भन्ने नै हुदैन्, घरमा भएका वा समूहमा बसेका सदस्यले पूर्व जानकारी अनुसार नै काममा आउने र जाने गरेका छन् । 

समस्याको पहिचान, कामको खोजी स्वयमको जिम्मेवारी । क्षमता विकास र ज्ञान सिप अभिवृद्धि गर्ने कार्यको थालनीबाटै धेरै काम टोलमै हुने गरेका छन् । घरमा तरकारी खेती, छोरा छोरीको पढाइ प्रतिको चिन्ता र श्रमदानबारे टोल समूहका छलफल गर्नु पर्ने अनिवार्य विषय नै बनेका छन् ।

पालिकाले बजेट नदिएसम्म आँगनको ढुंगा समेत नसार्ने अवस्था अन्त्य गराउने, र पालिका र जनता बीचको सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने लक्ष्य कार्यक्रमले बोकेको देखिन्छ । समाज निर्माणका लागि भइरहेको सामाजिक सहकार्यको अभ्यास नै लोभलाग्दो देखिन्छ । 

प्रतिक्रिया