बाजुरा ः बाजुरा जिल्लाको गौमुल गाउँपालिका-३ माझपालीमा रहेको जिल्लाकै सबैभन्दा लामो माझपाली-धल्काँडा झोलुगे पुल पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ ।
प्राकृतिक सौन्दर्य, उचाइको रोमाञ्च र आधुनिक संरचनाको संगम बनेको यस पुल हेर्न जिल्लाभित्रका पर्यटकहरू दैनिक रूपमा पुग्ने गरेका छन् । जिल्लाकै “भाइरल पुल” का रूपमा परिचित यस झोलुगे पुलमा स्थानीयबासी मात्र होइन, विभिन्न तहका उच्च पदस्थ व्यक्तिहरू पनि रमाउन पुग्ने गरेका छन् ।
वडा अध्यक्ष गोरख बोहराका अनुसार पछिल्लो समय पुलमा आउने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । पुलमा पुग्ने पर्यटकहरुले भिडियो रिल्स बनाउने, आकर्षक तस्बिर खिच्ने तथा आसपासको मनमोहक प्राकृतिक दृश्य अवलोकन गर्दै समय बिताउने गरेका छन् । पुलको उचाइ र लम्बाइले दिने रोमाञ्चक अनुभवले कतिपय युवा पुस्तालाई विशेष आकर्षित गरेको देखिन्छ ।
बुधबार मात्रै जिल्ला अदालत बाजुराका न्यायाधीश सञ्जीव पोखरेल सहित स्रेस्तेदार शंकरप्रसाद अधिकारी, तहसिलदार शाखा अधिकृत भुवानी शंकर घिमिरे, सूचना प्रविधि अधिकृत योगेन्द्र रावल लगायतको टोली पुलमा पुगेर अवलोकन तथा रमाइलो गरी फर्किएको थियो ।
२०८१ वैशाखमा निर्माण सम्पन्न भएको यस झोलुगे पुल २ सय ६० मिटर लम्बाइ र १ सय २५ मिटर उचाइको रहेको छ । पुल निर्माणका लागि २०७९ असार २७ गते सम्झौता गरिएको थियो । तत्कालीन प्रतिनिधि सभा सदस्य लालबहादुर थापाको पहलमा उक्त झोलुगे पुल निर्माण गरिएको थियो ।
झोलुगे पुल निर्माणका मुख्य सम्भाव्यता अध्ययनकर्ता इन्जिनियर वीरेन्द्र बोहराका अनुसार पुल बनेपछि धल्काँडा, गर्जे र पाते क्षेत्रका स्थानीयहरूलाई घण्टौँ हिँड्नुपर्ने बाध्यता हटेर आवतजावत सहज भएको छ ।
सम्झौता रकम स्थानीय जनश्रमदान सहित कुल २ करोड ६३ लाख २९ हजार ७ सय ३५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो पुल अहिले विकाससँगै पर्यटन प्रवद्र्धनको बलियो आधार बन्दै गएको छ ।
प्राकृतिक सुन्दरता र साहसिक अनुभवको खोजीमा रहेका आन्तरिक पर्यटकका लागि माझपाली-धल्काँडा झोलुगे पुल आज बाजुराको नयाँ चिनारी बन्दै उभिएको छ ।





प्रतिक्रिया