गाैमुल खबर डटकम शुक्रबार ११, पुष २०८२ ०५:५३

गौमुलमा शिक्षा र कृषिमा परिवर्तनको प्रयास, एच.आर.सी. र गाउँपालिकाको सहकार्य प्रभावकारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष ०९, २०८२
गौमुलमा शिक्षा र कृषिमा परिवर्तनको प्रयास, एच.आर.सी. र गाउँपालिकाको सहकार्य प्रभावकारी

बाजुरा ःगौमुल गाउँपालिकामा मानव संसाधन केन्द्र (एच.आर.सी.) बाजुराले शिक्षा र कृषिमा परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय सरकार र मानव संसाधन केन्द्रको संयुक्त लगानीमा शिक्षा र कृषिका क्षेत्रमा उल्लेखनीय प्रयासहरू गरिएका छन् । 

मानव संसाधन केन्द्र एच.आर.सी.बाजुराका शिक्षा विकास अधिकृत दीलबहादुर धामीका अनुसार एक वर्षको अवधिमा नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित सीपमूलक तालिमदेखि शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

गाउँपालिका र संस्थाको सहकार्यमा अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिएको छ । त्यस्तै, वडा नम्बर ४ को खडीखेत टोलका १५ जना र वडा नम्बर ६ को दडीपाटा टोलका १२ जना गरी २५ परिवारलाई टनेल वितरण गरिएको छ ।

कृषि प्रवद्र्धनका लागि वडा नम्बर ४ कौडाकोटका १३ जना, वडा नम्बर ६ गैरीबाडाका १२ जना तथा वडा नम्बर १ का १२ र वडा नम्बर २ का १३ परिवारलाई प्रतिपरिवार ३ वटाका दरले १ सय ५० उन्नत जातका बाख्रा वितरण गरिएको छ । साथै वडा नम्बर ३ को गर्जे र वडा नम्बर ५ को पडीकोटमा दुई कृषक समूहलाई लसुनको बीउ वितरण गरिएको छ ।

यसैबीच, गाउँपालिकाका छ वटै वडाबाट छ-छ जनालाई मोटरसाइकल मर्मत तथा आल्मुनियम सम्बन्धी तालिम प्रदान गरिएको छ भने वडा नम्बर ३ माझपालीमा सिँचाइ नहर निर्माण गरिएको छ । सम्पूर्ण सामुदायिक विद्यालयहरूमा शुक्रबारीय कार्यक्रम सञ्चालनमा सहयोग गरिएको छ भने अन्तर विद्यालय खेलकुद कार्यक्रम पनि छवटै वडामा सञ्चालन गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सीता थापाले स्थानीय सरकार र मानव संसाधन केन्द्रको सहकार्यबाट सञ्चालन भएका कार्यक्रमले पालिकालाई ठूलो टेवा पुगेको बताइन् । सीमित स्रोत साधनका कारण सबै आवश्यकता पूरा गर्न कठिन भएको उल्लेख गर्दै उनले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अगाडी बढिरहेको बताइन् ।

शिक्षामा गरिएको प्रयासले केही सहज भएको बालविकास नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक तीर्थ चौधरीले बताए । त्यस्तै, गौमुल गाउँपालिका-६ दडीपाटाका कृषक गजेन्द्र रोकायाले स्थानीय सरकार र संस्थाको सहयोगले आफूजस्ता जीविकोपार्जनमा निर्भर कृषकलाई राहत पुगेको प्रतिक्रिया दिएका छन् ।

गौमुल गाउँपालिका र मानव संसाधन केन्द्र एच.आर.सी. बाजुराद्वारा सञ्चालित कार्यक्रमको संयुक्त अनुगमन उपाध्यक्ष सीता थापाको नेतृत्वमा गरिएको थियो । अनुगमनमा वडा अध्यक्ष गोरख बोहरा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथ, कृषि शाखाका प्राविधिक कमला विक, मानव संसाधन केन्द्र एच.आर.सी.बाजुराका शिक्षा विकास अधिकृत दीलबहादुर धामी र रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया