बाजुरा ः लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गौमुल गाउँपालिका-५ नक्राडामा जनचेतनामूलक विविध कार्यक्रम सहित अभियान सम्पन्न गरिएको छ । वडा कार्यालयको आयोजनामा शुक्रबार सम्पन्न औपचारिक समारोह सहित १६ दिने अभियानको समापन गरिएको हो ।
अभियानको अवसरमा वडास्तरमै वक्तृत्वकला प्रतियोगिता, सडक नाटक, डेउडा गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुती मार्फत लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम मानाकोट माविले बालविबाह सम्बन्धी सडक नाटक र वडाका आधारभूत विद्यालयहरुले डेउडा प्रस्तुति गरेका छन् ।
वडा स्तरीय महिला अधिकार मञ्चकी अध्यक्ष संगीता रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । वडा अध्यक्ष कलकबहादुर सिंह विशिष्ट अतिथि रहेका हुन् ।
वडाका अन्य जनप्रतिनिधि शान्ति विक, रामबहादुर रोकाया, रामे रोकाया अतिथिका रूपमा सहभागी थिए । विद्यालयल व्यवस्थापन समितिका अध्यक्षहरु, पीसविन नेपाल, एच.आर.सी. बाजुराका प्रतिनिधि सहभागि बनेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले समाजमा अझै पनि जरा गाडेर बसेका अन्धविश्वास, विभेद र कुसंस्कार हटाउन समुदायकै सक्रिय सहभागिता आवश्यक रहेको बताइन् । थापाले विशेषतः महिलामाथि हुने हिंसा रोकथामका लागि युवा, विद्यार्थी तथा स्थानीय नेतृत्वको सजगता र सहभागी भूमिका महत्वपूर्ण हुने पनि बताइन् ।
वडा अध्यक्ष कलकबहादुर सिंहले सामाजिक रूपान्तरणको सुरुवात समुदायको आन्तरिक चेतना र प्रयासबाटै हुने उल्लेख गर्दै अझै पनि स्थानीय तहमा कतिपय विभेद र कुसंस्कार जीवित रहेको तथ्यलाई चुनौतीका रूपमा लिनुपर्ने धारणा राखेका छन् ।
उनले यस्ता चुनौतीहरू न्यूनीकरण गर्न स्थानीय सरकार, नागरिक समाज, विद्यालय र गाउँबासीकै एकीकृत प्रयास अपरिहार्य हुने बताएका हुन् । कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, महिला समूह र सरोकारवाला निकायका गरी २ सय भन्दा बढी सहभागीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस वर्ष “प्रविधिको सही सदुपयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारा सहित देशभर जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन् ।


प्रतिक्रिया