बाजुरा ःबालविकास नमूना माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थी-शिक्षकमा अनुशासन मजबुतिकरणका उद्देश्यले बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहभागितामा विद्यालय परिसरमै आयोजित औपचारिक कार्यक्रममा सकृय छलफल तथा सुझाव संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बोहराले जानकारी दिएका छन् ।
अध्यक्ष बोहराले विद्यालयको वर्तमान अवस्था, विद्यमान चुनौती र आगामी योजनाबारे प्रस्तुत गर्दै विद्यालयको समग्र सुधारका लागि अभिभावक, समुदाय र स्थानीय तहको निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गोरख बोहराले विद्यालयको शैक्षिक विकास वडाको पहिलो प्राथमिकता भएको बताएका छन् । गुणस्तरीय शिक्षा नभए भविष्य कमजोर हुने बताउँदै उनले विद्यालय, अभिभावक र समुदायबीच समन्वय र साझेदारी अनिवार्य रहेकोमा जोड दिएका छन् । विद्यालयले अघि सारेका सुधार योजनाहरूसँग वडाले पूर्ण साथ र समन्वय गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक तीर्थ चौधरीले अन्तरक्रियाबाट विद्यालयमा शैक्षिक गुणस्तर उकास्ने रणनीति, अभिभावक-विद्यालय समन्वय तथा विद्यार्थीमा अनुशासनात्मक व्यवहार विकासका लागि प्रभावकारी मार्गदर्शन प्राप्त भएको बताएका छन् । कार्यक्रममा अभिभावक, शिक्षक-शिक्षिका, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ ।


प्रतिक्रिया