बाजुरा ः बाजुराको बुढीगंगा नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै टोल-टोलमै निःशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा सञ्चालन गर्न थालेपछि स्थानीय महिलाहरू अत्यन्तै लाभान्वित भएका छन् ।
अब दुर्गम बस्तीका महिलाहरूले गर्भावस्थामा आवश्यक स्वास्थ्य परामर्शदेखि नियमित गर्भजाँचसम्म घरमै प्राप्त गर्न थालेका छन् । नगरपालिकाका १ देखि १० नम्बर वडासम्म मासिक रूपमा स्वास्थ्यकर्मीको टोली पुग्ने व्यवस्था गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालित यस कार्यक्रम अन्तर्गत प्रत्येक महिना एक दिन एक वडामा पुगेर गर्भवती महिलाका लागि अल्ट्रासाउन्ड, रक्तअल्पता, सुगर, पिसाब जाँच लगायत आवश्यक परीक्षण निःशुल्क उपलब्ध गराइन्छ ।
सेवा गाउँमै उपलब्ध भएपछि गर्भवती महिलाहरूको समय, खर्च र शारीरिक मेहनत बचत भएको छ। बुढीगंगा-८ की निर्मला कुमालले तीन पटक आफ्नै गाउँमा बसेर अल्ट्रासाउन्ड तथा ल्याब सेवा पाएको अनुभव सुनाउँदै भनिन्, “सदरमुकाम मार्तडी पुग्न दिनभर लाग्थ्यो, खर्च पनि धेरै हुन्थ्यो।
अब घरमै सेवा पाएपछि धेरै सहज भएको छ ।” सामान्य अवस्थामा जिल्ला अस्पतालमा एक पटक अल्ट्रासाउन्ड गर्दा कम्तीमा ४ सय रुपैयाँ खर्च हुने गरे पनि अब नगरपालिकाले गाउँमै पुगेर निःशुल्क सेवा उपलब्ध गराएपछि स्थानीय महिलाहरू विशेष रूपमा राहत पाएका छन् ।


प्रतिक्रिया