बाजुरा ः लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गौमुल गाउँपालिका-४ निलासैनमा जनचेतनामूलक विविध कार्यक्रम सहित अभियान सम्पन्न गरिएको छ । वडा कार्यालयको आयोजनामा बिहीबार सम्पन्न औपचारिक समारोह मार्फत १६ दिने अभियानको समापन गरिएको हो ।
अभियानको अवसरमा वडास्तरमै वक्तृत्वकला प्रतियोगिता, सडक नाटक, डेउडा गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुती मार्फत लैंगिक हिंसा विरुद्ध सचेतना फैलाउने प्रयास गरिएको वडा अध्यक्ष अमर विकले बताएका छन् ।
वडा मञ्चकी अध्यक्ष सुनिता बुढा रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । वडा अध्यक्ष अमर विक विशिष्ट अतिथि रहेका हुन् । वडाका अन्य जनप्रतिनिधि मंगल धामी, तुसार सार्की, गीता रोकाया र जना सार्की अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले समाजमा अझै पनि जरा गाडेर बसेका अन्धविश्वास, विभेद र कुसंस्कार हटाउन समुदायकै सक्रिय सहभागिता आवश्यक रहेको बताइन् । उनले हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता र निरन्तर जनचेतना अपरिहार्य हुनेमा जोड दिइन् ।
त्यसैगरी, वडाध्यक्ष अमर विकले समाज आफैं एैनाजस्तै भएकाले परिवर्तन पनि आम समुदायबाटै सुरु हुनुपर्ने धारणा राखेका छन् । उनले सामाजिक विभेदका अवशेषहरू अझै समेत रहेको उल्लेख गर्दै तिनको न्यूनीकरणका लागि सबैको साझा प्रयास अत्यावश्यक रहेको बताएका छन् ।
कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, महिला समूह र सरोकारवाला निकायका गरी २ सय भन्दा बढी सहभागीको उल्लेखनीय उपस्थिति रहेको थियो । यस वर्ष “प्रविधिको सही सदुपयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारा सहित देशभर जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन् ।



प्रतिक्रिया