बाजुरा ःगौमुल गाउँपालिका-४ मा रहेको कीर्तिचौर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भीमबहादुर बोहरा नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार उनलाई सोमबार एक औपचारिक कार्यक्रमबीच पदभार हस्तान्तरण गरिएको वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकले बताएका छन् ।
वडा अध्यक्ष विकका अनुसार बोहरा विद्यालय व्यवस्थापन र शैक्षिक क्षेत्रमा अनुभव सहितका सक्षम र योग्य व्यक्तित्व भएकैले समितिले सर्वसम्मत रूपमा जिम्मेवारी सुम्पिएको हो । उनले भने, “हाम्रो विद्यालयले विगतमा धेरै चुनौतीहरू सामना गरेको छ, तर सामूहिक प्रयास र निरन्तरताको कारण अब लयमा फर्किएको छ ।
नयाँ नेतृत्वले यस ऐतिहासिक मोडलाई अझ सुदृढ बनाउने अपेक्षा छ । बोहरा ज्यूले ल्याउने कार्यशैली र समर्पणले विद्यालयको शैक्षिक गुणस्तर थप उचाइमा पुग्नेछ भन्ने विश्वास हामी सबैमा छ ।” विकले विद्यालयको शैक्षिक सुधारदेखि पूर्वाधार, व्यवस्थापन र समग्र विकासका लक्ष्यहरू ठूलो भए पनि समुदायको साथ र शिक्षक-अभिभावकको सहकार्य रहेमा ती सबै पूरा गर्न सकिने बताएका छन् ।
उनले थपे, “कीर्तिचौर मावि हाम्रो गाउँपालिकाको पहिचान हो । यसलाई नमुना विद्यालयको रूपमा उभ्याउने अभियानमा बोहरा सरको नेतृत्व महत्वपूर्ण ऊर्जा बन्नेछ । हामी सबैले हातेमालो गरे लक्ष्य हासिल गर्न असम्भव छैन् ।” नवनियुक्त प्रधानाध्यापक बोहराले विद्यालयको समग्र सुधार र विद्यार्थी–केन्द्रित शिक्षण प्रक्रियालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया