गौमुल गाउँपालिका-४ मा अवस्थित कीर्तिचौर माध्यमिक विद्यालय पछिल्ला वर्षहरूमा शैक्षिक उपलब्धिसँगै खेलकुद क्षेत्रमै पनि उल्लेखनीय प्रगति गर्दै अघि बढिरहेको छ । विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा सशक्त उपस्थिति जनाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गर्न थालेपछि विद्यालय खेलकुदको उभरदो केन्द्रका रूपमा पहिचान बटुल्दै गएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष अमर विकका अनुसार शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि खेलकुद अपरिहार्य भएकै कारण विद्यालयले व्यवस्थित योजना अनुसार कार्यक्रम सञ्चालन गरिरहेको छ । “विद्यार्थीलाई केवल कक्षाकोठाभित्र सीमित राख्न हुन्न ।
सिकाइलाई व्यवहारिक, रुचिकर र प्रभावकारी बनाउन खेलकुद अत्यन्त जरुरी हुन्छ,” अध्यक्ष विकले बताए । उनका अनुसार विद्यालयले खेल मैदान सुधार, खेल सामाग्री विस्तार तथा योग्य प्रशिक्षक व्यवस्थापन जस्ता पहल गर्दै पालिकासँग सहकार्यमा खेलमैत्री वातावरण निर्माण गरिरहेको छ ।
नियमित अभ्यास, प्रतिभा पहिचान कार्यक्रम र विभिन्न प्रतियोगितामा सहभागिताका कारण विद्यार्थीहरूको क्षमतामा उल्लेखनीय सुधार देखिन थालेको विद्यालय प्रशासन बताउँछ । अभिभावक, स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको संयुक्त सक्रियताले कीर्तिचौर माविलाई खेलकुद क्षेत्रमा अब्बल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
विद्यालयले “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने राष्ट्रिय नारालाई व्यवहारिक रूपमा मूर्त रूप दिन निरन्तर सक्रियता देखाइरहेको छ । यसै क्रममा विद्यालयमा नेपाल सितोरिया कराते महासंघ अन्तर्गत प्रथम दीक्षान्त ग्रेडिङ समारोह शुक्रबार सम्पन्न गरेको छ ।
कराते प्रशिक्षक तथा शिक्षक गणेश रोकायाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा प्रमुख अतिथि रहिन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष अमर विक विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
ईलाका प्रहरी कार्यालय गौमुलका प्रहरी निरीक्षक विकास थापा, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको समारोहले विद्यालयको खेलकुद प्रवद्र्धन अभियानलाई अझ ऊर्जा प्रदान गरेको विद्यालयले जनाएको छ ।


प्रतिक्रिया