बाजुरा ः बाजुरा जिल्ला कारागारको सुविधायुक्त नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । बाजुरामा ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको सुविधायुक्त कारागार निर्माण हुन लागेको हो । सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरी पुरानो भवन भत्काएर नयाँ भवन निर्माण कार्य सुरु गरिएको छ ।
२०३७ सालमा बनेको भवन जीर्ण बन्दै गएपछि नयाँ भवन बनाउन लागिएको जिल्ला कारागार कार्यालय बाजुराका प्रमुख जेलर अनिलकुमार तिवारीले बताए । करिब ४५ वर्ष पहिले २५ जना कैदीबन्दीका लागि कारागार निर्माण गरिएको थियो । कैदीबन्दी थपिँदै गएकोले भवन साँघुरो हुँदै गएको महसुस गरी नयाँ भवन निर्माण गर्न लागिएको जिल्ला कारागार बाजुराले जनाएको छ ।
कारागारका प्रमुख जेलर तिवारीले यहाँका कैदीबन्दीलाई विभिन्न समस्या भइरहेको भन्दै आफू जिल्लामा आएलगत्तै भवन निर्माणका लागि पहल थालेको बताए । लामो पहलपछि महिला र पुरुष गरी ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको कारागारको नयाँ भवन निर्माण कार्य सुरु गरिएको तिवारीको भनाइ छ ।
शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको ५ करोड बढी बजेटमा कारागारको सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो । कारागारको नयाँ भवन निर्माणका लागि २०८२ भदौमा ५ करोड ९८ लाख ४८ हजार ४९८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
२०८३ फागुन मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा डीबी बीएन एस जेभीले लिएको छ । कारागारको नयाँ भवन निर्माण कार्य सुरु भएसँगै कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कारागार प्रमुख जेलर अनिल तिवारीले दशैं-तिहारमा ४० जना कैदी बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय नौवस्ता कारागारमा सारिएको बताए ।
त्यस्तै ७ जना कैदी कैलाली र १८ जना थुनुवालाई अछाम जिल्ला कारागार स्थानान्तरण गरिएको छ । २०३७ सालमा २५ जना पुरुष कैदीबन्दीका लागि बनेको कारागारमा अहिले तेब्बर बढी संख्यामा कैदीबन्दी बस्दै आएका थिए । त्यस्तै कारागारभित्र खान-बस्नका साथै वर्षातमा पानी चुहिने समस्या थियो भने सुरक्षाकर्मी बस्ने भवन समेत जीर्ण थियो ।
कारागार प्रशासन भने अहिलेसम्म भाडामा बसिरहेको छ । महिला र पुरुष दुवै गरी ७५ जनाको क्षमता भएको कारागारको सुविधासम्पन्न भवन निर्माण भएपछि कैदीबन्दी, सुरक्षाकर्मी तथा प्रशासनलाई खान-बस्नसहित सुरक्षामा समेत सहजता हुने कारागारले जनाएको छ ।





प्रतिक्रिया