बाजुरा ःगौमुल गाउँपालिकामा रहेका मुक्त हलिया र खलियाहरूको पहिचान प्रक्रिया सुरु हुने भएको छ । गाउँपालिकाभर रहेका हलिया तथा खलियाहरूको पहिचान ‘मुक्त हलिया पुनःस्थापना कार्यविधि’ अनुसार गरिने निर्णय गरिएको हो ।
गाउँपालिकाको केन्द्र घट्मुनामा बिहीबार जनप्रतिनिधिसँग भएको छलफल कार्यक्रममा उक्त निर्णय गरिएको हो । कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले मुक्त हलिया समुदायको पुनःस्थापनाका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
उनका अनुसार सामाजिक न्याय र समानताको आधारमा समाज निर्माण गर्न स्थानीय सरकार सक्रिय रुपमा लागिपरेको बताएका छन् ।
लुथरन विश्व फेडेरेसन नेपालको सहयोगमा बाजुरामा हाल मुक्त हलिया पुनःस्थापना सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको सामाजिक परिचालक जनसरा सार्कीले जानकारी दिएकी छन् ।
उनका अनुसार कार्यक्रमले स्रोत-साधनमा पहुँच, राज्यका निकायहरूमा अर्थपूर्ण सहभागिता र मुक्त हलियाहरूको दिगो जीविकोपार्जन सुनिश्चित गर्न सहयोग गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा उपाध्यक्ष सीता थापा, वडा अध्यक्षहरु कलकबहादुर सिंह, अमर विक, प्रकाश रोकाया, देव रोकाया, देवेन्द्र रोकाया, गोरख बोहरा लगायत कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
गौमुल गाउँपालिका स्तरीय मुक्त हलिया समाजका अध्यक्ष डबल चदाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो ।
प्रतिक्रिया