गाैमुल खबर डटकम बिहीबार २०, कार्तिक २०८२ ०७:१३

गौमुल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक २०, २०८२
गौमुल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार हुने

बाजुरा ः बाजुराको गौमुल गाउँपालिकामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय प्रसारण लाइन विस्तार तथा जडान कार्य सुरु हुने भएको छ । गाउँपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रसँगको साझेदारीमा तत्काल प्रसारण लाइन विस्तार गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार गाउँपालिकाभित्रका सबै वडामा स्थिर, भरपर्दो र पर्याप्त विद्युत आपूर्ति सुनिश्चित गरिनेछ । गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार प्रसारण लाइन विस्तार भएपछि गाउँपालिकाको उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा गुणात्मक परिवर्तन आउने भएको छ ।

उनले भने,“यो आयोजना हाम्रो गाउँपालिकाको विकासको आधार हो । स्थिर र गुणस्तरीय बिजुली पुगेपछि यहाँका उद्योग, व्यवसाय, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र सबैले फाइदा पाउने छन्।”

अध्यक्ष रोकायाले नेपाल विद्युत प्राधिकरणको सहकार्यमा सञ्चालन हुन लागेको उक्त योजनाले गाउँपालिकाको दीर्घकालीन विकासलाई सुदृढ बनाउने बताएका छन् । उनका अनुसार योजनाका क्रममा प्रसारण लाइनका पोल गाड्ने, तार तान्ने तथा केही स्थानमा जग्गा प्रयोग गर्नुपर्ने हुन सक्ने भएकाले गाउँपालिकाले सबै जनतालाई आवश्यक सहयोग र समझदारीका साथ अघि बढ्न अनुरोध गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले पनि आयोजनाले गाउँपालिकाको आर्थिक, सामाजिक र औद्योगिक क्षेत्रमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि गाउँपालिकाको समग्र विकासमा नयाँ अध्याय सुरु हुनेछ ।

स्थिर बिजुली पुग्दा सेवा र उत्पादनशील क्षेत्रमा गतिशीलता आउनेछ ।” नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका अनुसार परियोजना कार्यान्वयनका लागि प्रारम्भिक प्राविधिक अध्ययन पूरा भइसकेको छ र आवश्यक सामग्री तथा उपकरण तयारीमा रहेका छन् । निकट भविष्यमा कार्य सुचारु गरिने भएको छ ।

स्थानीय बासिन्दाहरूले गाउँपालिकाको यस निर्णयप्रति स्वागत गर्दै दीर्घकालीन ऊर्जा सुरक्षाको दिशामा महत्वपूर्ण कदम भएको बताएका छन् । उनीहरूले बिजुली पुगेपछि गाउँमा साना उद्योग सञ्चालन, सेवा क्षेत्र विस्तार र युवाहरूका लागि रोजगारीका नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया