गाैमुल खबर डटकम बिहीबार २०, कार्तिक २०८२ ०१:२८

घरदैलो स्वास्थ्य सेवा अभियान : वडामा टोल-टोलमा उपचार, स्थानीय उत्साहित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक २०, २०८२
घरदैलो स्वास्थ्य सेवा अभियान : वडामा टोल-टोलमा उपचार, स्थानीय उत्साहित

बाजुरा ःगौमुल गाउँपालिका-३ नम्बर वडामा घरदैलो स्वास्थ्य सेवा अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा अन्तर्गतको टोलीले वडाभरका टोल-टोलमा पुगेर स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरिएकाे हाे ।

वडा अध्यक्ष गोरख बोहराका अनुसार, उक्त अभियान विशेषगरी अशक्त, अपाङ्गता भएका व्यक्ति, बृद्धबृद्धा, गर्भवती महिला र बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो ।

स्वास्थ्य टोलीले घरदैलोमै पुगेर बिरामीहरूको अवस्था बुझ्ने, प्राथमिक उपचार गर्ने र आवश्यक परे थप स्वास्थ्य सल्लाह प्रदान गर्ने कार्य गरेको बताइएको छ ।

अभियानका क्रममा स्वास्थ्यकर्मीहरूले वडाभर रहेका बिरामीहरूको पहिचान, सामान्य रोगहरूको उपचार, साथै क्षयरोग (टि.भी.) तथा भाइरल रोगहरूको परीक्षण समेत गरेका छन् ।

हालसालै वडामा देखा परेको केही भाइरल संक्रमणका लक्षणहरूलाई ध्यानमा राखी तत्काल उपचार सेवा पुर्याइएको वडा अध्यक्ष बोहराले जानकारी दिएका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकका अनुसार, टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्नाले स्वास्थ्य संस्थामा पुग्न नसक्ने बासिन्दालाई सहज र समयमै सेवा उपलब्ध गराउन सहयोग पुगेको छ । “घरमै स्वास्थ्यकर्मी आउँदा धेरैलाई राहत भएको छ,” उनले भने ।

स्थानीय बासिन्दाहरूले आफ्नै टोलमा स्वास्थ्य टोली आइपुगेपछि अत्यन्त खुसी व्यक्त गरेका छन् । उनीहरूले यस्तो सेवा निरन्तर हुने अपेक्षा पनि व्यक्त गरेका छन् । गौमुल गाउँपालिकाले घरदैलो स्वास्थ्य अभियानहरूलाई नियमित रूपमा सञ्चालन गरी प्रत्येक वडामा स्वास्थ्य सेवा सुलभ बनाउने गरेका छ ।

प्रतिक्रिया