बाजुरा ः शनिबार बस दुर्घटनामा परी घाइते भएका बस सहचालकको उपचारका क्रममा मृत्यु भएको छ । मार्तडी-कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका-७ सेरकाटियामा बस दुर्घटना हुँदा घाइते भएका बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका-९ का २४ वर्षीय गणेश जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।
घाइते जोशीको अवस्था जटिल भएपछि थप उपचारका लागि धनगढी पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको प्रहरीको भनाई रहेको छ । बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
घाइतेलाई शनिबार राति नै एम्बुलेन्स र जीप मार्फत धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका २३ वर्षीय विशाल शाही, बुढीनन्दा नगरपालिका-६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका-५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका-५ छातीकोट बस्ने सात वर्षीया लक्ष्मी मल्ललाई थप उपचारका लागि पठाइएको हो ।
यस्तै बुढीगंगा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उनकी २ वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बुढीनन्दा नगरपालिका-७ सास्ता बस्ने ४५ वर्षीया ईश्वरादेवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।
कोल्टीबाट धनगढीका लागि छुटेको सु.प.प्र. ०१-००१ ख ३१८१ नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस दुर्घटनापछि चालक फरार भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।





प्रतिक्रिया