गाैमुल खबर डटकम शनिबार १५, कार्तिक २०८२ ०१:४०

माओवादीसँग एकता गर्नेबारे एकीकृत समाजवादीमा तीव्र मतभेद

महासचिव घनश्याम भुसाल भन्छन्-'सैद्धान्तिक विषयमा खेलबाड गरे एकता धोका हुनेछ ।'
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक १३, २०८२
माओवादीसँग एकता गर्नेबारे एकीकृत समाजवादीमा तीव्र मतभेद

काठमाडौं ः नेकपा एकीकृत समाजवादी (एस) मा माओवादीसँग एकता गर्ने विषयमा तीव्र मतभेद देखिएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले असहमति जनाइरहेका बेला महासचिव घनश्याम भुसालले राजनीतिक र वैचारिक आधारबिना भएको एकता धोका हुने बताएका छन् ।

अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकताको पक्षमा राजनीतिक दस्ताबेज प्रस्तुत गरेपछि महासचिव भुसालले ‘सैद्धान्तिक’ विषयमा आधार नभई एकता गर्न नहुने धारणा राखेका हुन् । ‘सैद्धान्तिक कुरामा हामीले खेलबाड नगरौं । यसमा खेलबाड गरियो भने यो एकता धोका हुन्छ । अब यहाँ आएर जनतालाई धोखा नदिऔं ।

कार्यकर्तालाई धोखा नदिऔं,’ भुसालले भने, ‘सचिवालयमा पनि भनेको छु । कमरेड प्रचण्ड, माधवकुमार नेपालसँगग पनि भनेको छु । कम्युनिस्ट आन्दोलनमा यो जनवादी केन्द्रियता भन्ने अपवादमा मात्रै लागू भएको छ ।’ पार्टीको नेतृत्व बहुमतमा रहेपछि अपराधै गरे पनि छुट पाएको उनको भनाइ छ ।

‘नेता जहिले पनि बहुमतमा हुन्छ । जस्तोसुकै गल्ती गरे पनि, जस्तोसुकै अपराध गरे पनि, आज देउवा बहुमतमा, ओली अहिले पनि बहुमतमा, प्रचण्ड बहुमतमा,’ उनले भने । उनले माओवादीसँग एकताका लागि छोडेका विषय हेर्दा एमालेसँग पनि एकताका लागि उत्तिकै सम्भावना भएको बताए । ‘संगठनात्मक, मार्गदर्शक सिद्धान्त, समाजवादी कार्यदिशा मिल्यो भन्या छौं ।

जनताको बहुदलीय जनवाद भन्ने एउटा शब्द निकाल्दिने हो भने एमालेसँग नमिल्नुपर्ने कुनै कारण छैन,’ भुसालले भने, ‘माओवादीसँग अहिले एकताका लागि जति कुरा हामीले मिचेका छौं । त्यति मिच्दिने हो भने एमालेसँग पनि एकता हुन सक्छ, जुन गलत हुन्छ ।’ भुसालले एमाले घोर दक्षिणपन्थी बाटोमा गएको उल्लेख गर्दै माओवादी पनि त्यही दिशामा गएको आरोप लगाए ।

‘एमाले घोर दक्षिणपन्थी हुँदै छ । यो भयंकर दक्षिणपन्थी, नाङ्गो दक्षिणपन्थी हुँदै छ । माओवादी नजिक जाँदै छ,’ उनले भने, ‘हिजो त्यो क्रान्तिको ३१ लाख भोट पाएको थियो, गत निर्वाचनमा ११ लाखमा आएको छ । यसलाई सफलता मान्दै जाने हो भन्ने एउटा कुरा हो, यसलाई असफलता मान्दै जाने हो भने यो अर्को कुरा हो ।’

पार्टीहरुको डीएनएमा समस्या भएका कारण सडकमा आएको विश्लेषण हुनुपर्ने उनको भनाइ छ । ‘एमाले डीएनएको समस्या के हो ? माओवादीको डीएनको समस्या के हो ? हाम्रो डीएनएको समस्या के हो भन्ने कुरा हामीले नखुट्याईकन जहाँसुकै गए पनि, जति धेरै गए पनि के हुन्छ ? लाखौं कार्यकर्ता आज सबै भुइँमा छौं । नेता भुइँमा छन् । राज्य भुइँमा छ । राष्ट्रपति भुइँमा छन् । सारा चिज भुइँमा छ ।

यो कुरालाई हामीले हेर्नुपर्छ ।’ २०७५ मा भएको एमाले-माआवादी एकताको सन्दर्भ उल्लेख गर्दै उनले नेकपा विभाजनको कारण खोज्नुपर्ने बताए । ‘आज कम्युनिस्ट आन्दोलनको एकताको कुरा गर्दा हिजो किन विभाजित भयौं ? हिजो एकताबद्ध भएका थियौं । त्यो डीएनएमा के थियो ? विभाजित किन भयो भन्ने कमरेडहरुलाई थाहा छ ।’

प्रतिक्रिया