बाजुरा ः गौमुल गाउँपालिका-१ मा रहेको वडा स्तरीय किशोरी क्लबले देउसी–भैलो खेलेर २० हजार रुपैयाँ चन्दा संकलन गरेको छ । तिहार पर्वको अवसरमा स्थानीय युवतीहरुले सांस्कृतिक परम्परा जगेर्ना गर्ने उद्देश्यका साथ देउसी-भैलो कार्यक्रम सञ्चालन गरेका हुन् ।
किशोरी क्लबकी सदस्य एलिसा चँदाराका अनुसार कार्तिक १ गतेदेखि वडाको अम्लिस, माडी र दुर्गाली टोलमा देउसी-भैलो खेलेर चन्दा संकलन गरिएको हो । उनका अनुसार स्थानीय बासिन्दाहरूले उत्साहका साथ सहयोग गरेका थिए ।
“हामीले सांस्कृतिक परम्परा जोगाउने र सामाजिक एकता सुदृढ गर्ने उद्देश्यले देउसी-भैलो खेलेका हौँ,” उनले भनिन्, “स्थानीय दाजुभाइ र दिदीबहिनीहरूको सहयोगबाट राम्रो रकम संकलन गर्न सफल भयौँ।”
संकलित रकम क्लबका सामाजिक तथा सशक्तीकरणमुखी कार्यक्रमहरूमा खर्च गरिने क्लबले जनाएको छ । क्लबका अध्यक्षका अनुसार रकम बालबालिकाका हक अधिकार, लैङ्गिक समानता र जनचेतनामूलक गतिविधिमा प्रयोग गरिने योजना बनाइएको छ ।
वडा अध्यक्ष देवेन्द्र रोकायाले किशोरी क्लबको पहलको प्रशंसा गर्दै यस्तो गतिविधिले गाउँमा सकारात्मक सन्देश पुगेको बताएका छन् । देउसी-भैलो खेलेर बाजुराका विभिन्न ठाउँका स्थानीय किशोर किशोरीहरुले रकम संकलन गर्ने गरेका छन् ।
प्रतिक्रिया