बाजुरा ः बझाङको जयपृथ्वी नगरपालिका-७ छ्यालका गणेश सुनार झण्डै दुई दशकदेखि भारतको नयाँ दिल्लीमा परिवारसहित बस्दै आएका थिए । बझाङबाट कैलालीको अत्तरिया सरेपनि आफू र आफ्नो भाइको परिवार सहित उनी दिल्लीमै बसिरहेका थिए ।
बडा दशैं पूरै परिवारसहित भारतमै मनाएका गणेशले तिहार भने नेपालमा मनाउने योजना बनाएका थिए । तर दशैं सकिँदै नसकिँदै, त्यो योजना शोकमा परिणत भयो । शनिबार धनगढी आउँदै गर्दा दुर्घटनामा गणेशको ज्यान गयो । गणेश सवारी चालक हुन् । उनको आफ्नै यात्रुवाहक जिप थियो ।
उनी ‘लक्ष्मी टुर एण्ड ट्राभल्स’ नामक सेवामार्फत भारतबाट नेपाल र नेपालबाट भारतसम्म यात्रुहरूलाई ओसारपसार गर्ने गर्थे । भारतका विभिन्न सहरहरूमा पनि उनी आफ्नै गाडी लिएर यात्रुहरू पुर्याउने गर्थे ।सधैंझैं शनिबार पनि दिल्लीबाट यात्रु लिएर प्रस्थान गरेका उनी धनगढी पुग्न पाएनन् । भारतको पीलीभीतस्थित बीसलपुर थाना क्षेत्रको भडरिया मोड नजिकै रोकिएको उनको ट्याक्सीलाई ट्रकले ठक्कर दिएको थियो ।
गणेश सहित बाजुराकाे बडीमालिका नगरपालिका-४ रिलाका नरेन्द्र नाथ र निखिल रोकायाको घटनास्थलमै मृत्यु भयो भने अञ्जली रोकाया अहिले पनि अस्पतालको शैय्यामा उपचाररत छिन् । ‘कारको पछिल्लो टायर पन्चर भएर सडक किनारामा टायर फेर्ने क्रममा तीव्र गतिमा गुडेको ट्रकको ठक्करबाट उहाँहरूको मृत्यु भएको हो,’ गणेशका भाई झलक विकले भने, ‘अहिलेसम्म पनि ठक्कर दिने गाडी फेला परेको छैन ।’
उनका अनुसार सबै जना कारबाट ओर्लिएर सडक छेउमा उभिएका थिए । केहीले चालकलाई टायर फेर्न सहयोग गरिरहेका थिए । त्यही बेला पछाडिबाट आएको अनियन्त्रित ट्रकले ती मानिसहरूलाई किच्दै कारमा ठोक्किएको थियो । तर, तीन जनाको ज्यान लिने गरी ठक्कर दिने ट्रक अझै फेला परेको छैन । शनिबार करिब ४ः ४५ को हाराहारीमा दुर्घटना भएको अनुमान गरिएको छ ।
केहीबेरपछि घटनास्थलबाट स्थानीयले दिल्लीमा खबर गरेका थिए । दशैं सकेर तिहारमा सँगै नेपाल आउने योजना बनाएका पुरै परिवार दुःखद खबर सुनेर घटनास्थल पुगे । ‘हामी त्यहाँ पुग्दा प्रहरीहरूले शवहरूको व्यवस्थापन गरिसकेका थिए । घाइतेको उपचार भइरहेको थियो,’ भाइ झलकले भने, ‘दाईको गाडीमा आएका केही यात्रु सकुशल हुनुहुन्थ्यो, तर उनीहरूसँग भेट हुन सकेन ।
त्यसपछि हामी शव लिएर कैलाली फर्कियौं ।’ गणेशसहित अन्य दुई जनाको मृत्यु भएपछि तिनका परिवारमा पनि ठुलो बज्रपात परेको छ । तर नेपाली प्रशासनलाई भने यस विषयमा अहिलेसम्म कुनै जानकारी छैन । ‘हामीले पनि दुर्घटना भएको भन्ने मात्रै सुनेका हौं,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘मृतक र घाइतेको अवस्थाबारे कुनै आधिकारिक जानकारी आएको छैन ।’
कैलाली प्रशासनलाई मात्रै होइन, कञ्चनपुरमा पनि यो घटनाबारे कुनै जानकारी छैन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पनि समान प्रतिक्रिया दिए, ‘हामीलाई यस विषयमा खासै जानकारी छैन । केही समस्या भए समन्वय गरौंला,’ उनले भने । एउटै दुर्घटनामा तीन नेपालीले ज्यान गुमाएका छन्, तर अहिलेसम्म पनि रोकिएको गाडीलाई ठक्कर दिने गाडी फेला परेको छैन ।
आइतबार गोदावरीमा दाहसंस्कारपछि गणेशको परिवार फेरि घटनाको अनुसन्धानको माग गर्न भारत पुगेको छ । सत्यतथ्य छानविन गर्न र दोषिलाई कारबाही गर्न घटनास्थल नजिकैको प्रहरी कार्यालयमा याचना गरिरहेको छ । बुवाको मृत्युपछि किरिया बस्ने छोरा अहिले सेतो लुगामै बुवाको घटनाबारे अनुसन्धान हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने मागसहित भारतमै भौतारिरहेका छन् ।
‘हामी हिजो यहाँ आएका हौं । घटनाको सत्यतथ्य छानबिनको माग हामीले स्थानीय प्रहरीलाई गरेका छौं ।तर अहिलेसम्म पनि कुन गाडीले ठक्कर दिएको हो भन्ने पत्ता लागेको छैन,’ गणेशका छोरा गोपालले भने । मृतकका भाइ, छोरा र अन्य परिवारका सदस्यसहित ८ जना अहिले प्रहरीसँगै वरिपरिका सिसी क्यामेरा फुटेज हेर्दैछन् । करिब दुई दिन बितिसक्दा पनि कुनै प्रगति भएको छैन ।
‘जहाँबाट सबै थाहा पाइने अपेक्षा गरेका थियौं, त्यहाँ बत्ती नभएको भन्दै ४ बजेदेखि ८ बजेसम्मको भिडिओ भेटिएन,’ गोपालले भने, ‘दुर्घटना करिब ४:४०–४:४५ को बीचमा भएको भनिन्छ, तर त्यो बेला कुनै पनि सिसी क्यामेरामा संकास्पद भिडिओ भेटिएको छैन ।’ उनका अनुसार स्थानीय प्रहरीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ ।
तर सडक आसपासका सरकारी क्यामेराहरू बिग्रिएका बताउँदै कुनै सुराक नभेटिएको जनाएको छ । किरिया छोडेर घटनाको वास्तविकता बुझ्न र न्याय दिलाउन भन्दै अर्को देशमा लडिरहेका गणेशका परिवारले नेपाल सरकारसँग पनि घटनाबारे छानबिनको पहल गर्न आग्रह गरेका छन् ।
‘चलिरहेको गाडीमा भएको दुर्घटना होइन,’ गोपालले भने, ‘गाडी विग्रिएर बाटो छेउमा रोकिएको अवस्थामा ठक्कर दिइएको हो । यसमा तीन जनाको ज्यान गएको छ, त्यसैले यसको निष्पक्ष छानबिन हुनुपर्छ । नेपाली नागरिकहरू भारतमा यसरी मर्दा पनि सरकारले चासो नदिनु राम्रो होइन । तत्काल नेपाल सरकारले भारत सरकारसँग यो विषयमा कुरा गरोस् ।’
प्रतिक्रिया