बाजुरा ः गौमुल गाउँपालिका-६ टुनीका चर्चित कलाकार ध्रुव विकलाई स्थानियबासीहरूले भव्य स्वागत गर्दै बधाई तथा सम्मान गरेका छन् । राष्ट्रिय स्तरमा गाउँपालिका र परिवारको नाम चिनाउन सफल भएकोमा स्थानीयले उनलाई फूलमाला सहित सम्मान गरेका हुन् ।
“मेरो भ्वाइस युनिभर्स सिजन–२” मा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट बन्न सफल भएका विकको सम्मानमा कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा वडा सदस्य कलक चदाँरा, पूर्व वडा सदस्य प्रेम विक र कोपिला सहकारीका अध्यक्ष रमित विकले उनलाई सम्मान गरेका थिए । ध्रुव विकले “च्यातिएको चोली फेरौंला”, “पैया गुड्न लाग्या” र “किन लायौं जाली माया” जस्ता चर्चित गीतमा प्रस्तुति दिएपछि मेगा अडिसनमा छनोट भएका थिए ।
उनका उत्कृष्ट प्रस्तुतिपछि "मेरो भ्वाइस युनिभर्स" का निर्णायक तथा चर्चित संगीतकार/निर्देशक सुरेश अधिकारीले उनलाई भविष्यमा फिल्मी गीतमा अवसर दिने घोषणा गरेका थिए। कार्यक्रमकै अवसरमा कलाकार विकले लाइभ गीत प्रस्तुति समेत दिएका थिए ।
उनले गाउँ फर्किएर स्थानीयले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे । साथै गाउँ र घरको अगुवा रमित विक प्रति विशेष आभार प्रकट गर्दै पारिवारिक एकताले आफूलाई थप हौसला दिएको बताए ।
ध्रुव विकले विभिन्न गीतमा स्वर दिइसकेको र केही गीतहरूको रेकर्डिङ सम्पन्न भइसकेको जानकारी दिँदै चाँडै आफ्ना गीतहरू बजारमा आउने उल्लेख गरे ।
कार्यक्रममा वडा सदस्य कलक चदाँरा, पूर्व वडा सदस्य प्रेम विक, स्थानीय भद्रभलाद्मीहरू र अन्य दर्जनौं स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रम निकै उत्साहजनक र प्रेरणादायी बनेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।





प्रतिक्रिया