गाैमुल खबर डटकम सोमबार १०, कार्तिक २०८२ १०:०५

अम्लिसमा फोरजी सेवा सञ्चालन

बाजुरा
रमित वि.क.
बिहीबार, असोज ०९, २०८२
अम्लिसमा फोरजी सेवा सञ्चालन

बाजुरा ः नेपाल टेलिकमले बाजुराको गौमुल गाउँपालिका-१ अन्तर्गत अम्लिस, अन्द्राडी, माडी, दुर्गाली तथा वडा नम्बर २ का विभिन्न गाउँहरूमा फोरजी मोबाइल सेवा सुरु गरेको छ ।

थुप डाँडामा निर्माण गरिएको नयाँ टेलिकम टावरमा आवश्यक उपकरण, सोलार प्यानल, ब्याट्री तथा विद्युत आपूर्ति प्रणाली जडान भएपछि सेवा सञ्चालनमा आएको हो ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाकाले भौगोलिक विकटता र प्राविधिक चुनौतीका कारण सेवा विस्तारमा ढिलाइ भएपनि लामो प्रयासपछि अन्ततः स्थानीयबासीलाई फोरजी सुविधा उपलब्ध गराउन सफल भएको बताएका छन् ।

“सबै वडाका सबै टोलहरूमा सेवा पुग्न नसकेको भए पनि क्रमशः विस्तार गर्दै लैजाने तयारी भइरहेको छ,” अध्यक्ष रोकायाले बताए । गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले सञ्चार पहुँचलाई प्रभावकारी बनाउन फोरजी सेवा जडान गरिएकोले सबै क्षेत्रमा ठूलो सहजता ल्याउने विश्वास व्यक्त गरिन् ।

नेपाल टेलिकम बाजुराका प्रमुख समेत रहेका इन्जिनियर ईश्वर सिंहले सेवा सञ्चालनमा ढिलाइ हुनुको कारण आवश्यक उपकरण ढिलो प्राप्त हुनु रहेको बताउँदै, समस्याको समाधानका लागि स्वयं स्थलगत अवलोकन गरेको जानकारी दिएका छन् ।

अन्द्राडी लघुजलविद्युत आयोजनाका अध्यक्ष धनबहादुर बोहराका अनुसार, उक्त आयोजनाबाट टावरमा विद्युत आपूर्ति गरिएको छ, जसले सेवा सञ्चालनमा ठूलो भूमिका खेलेको छ ।

स्थानीय अगुवा रामबहादुर रोकायाले नियमित फोन सेवा र फोरजी सुविधा सुरु भएपछि सञ्चार क्षेत्रमै क्रान्तिकारी परिवर्तन हुने बताउँदै खुसी व्यक्त गरे । अबदेखि अम्लिस क्षेत्रमा २४ घण्टा नियमित रूपमा फोन र फोरजी सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया