बाजुरा ःगौमुल गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रमाणीकरणका लागि विशेष बैठक सम्पन्न भएको छ । अनौपचारिक भू-सम्बन्ध सूचना प्रणालीमा विवरण प्रविष्ट गरिएका व्यक्तिहरूको प्रमाणीकरण गर्ने उद्देश्यले गाउँ कार्यपालिकाले बैठक आयोजना गरिएको हो ।
भूमि समस्या समाधान आयोग, बाजुराका अमिन तेज बडुवालका अनुसार, प्रमाणीकरणको दोस्रो चरणमा प्रवेश गरेपछि जग्गाको नापजाँच (नाप नक्सा) प्रक्रिया प्रारम्भ गरिने भएको छ । उनका अनुसार, गौमुल गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह हो, जहाँ यो प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष सीता थापाले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाको स्वामित्व प्रदान गर्ने कार्य प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँले हालसम्म अनौपचारिक रूपमा जग्गा प्रयोग गर्दै आएका नागरिकलाई कानुनी रूपमा अधिकार दिने प्रक्रिया पनि अगाडी बढाइएको बताउनुभयो ।
यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष कलक बहादुर सिंहले पालिकाका केही बासिन्दाको नाममा अहिलेसम्म कुनैपनि किसिमको जग्गा दर्ता नभएकाले संघीय सरकारसँग समन्वय गरी जग्गा उपलब्ध गराउने पहल भइरहेको बताउनुभयो । साथै, स्थानीय स्तरमा बाँझो तथा खाली रहेको सरकारी जग्गा उपयुक्त रूपमा व्यवस्थापन गर्दै चलनभोगमा ल्याउने काममा गाउँपालिका लागिपरेको समेत उहाँले बताउनुभयो ।
भूमि समस्या समाधान आयोगका अनुसार, प्रत्येक वडामा भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अनुमानित घरधुरी विवरण सहित अनुसूची-२ बमोजिम प्रारम्भिक विवरण संकलन गर्ने कार्य स्थानीय तहसँगको समन्वयमा गरिनुपर्नेछ ।
प्रमाणीकरण बैठकमा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कलक बहादुर सिंह, प्रकाश रोकाया, गोरख बोहरा, देव रोकाया, देवेन्द्र रोकाया, कार्यबाहक वडा अध्यक्ष मंगल धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्म खडायत लगायतको सक्रिय सहभागीता रहेको थियो ।





प्रतिक्रिया